रेखा थापा भन्छिन्– मिस नेपालहरू बरालिए, बीचमै हराए

काठमाडौं । नायिका रेखा थापाले मिस नेपालहरू सिनेमामा आएर पनि बरालिरहेको बताएकी छन् । क्षमता हुँदा हुँदै र सिनेमामा प्रवेश गरे पनि बीचमै बरालिने गरेको रेखाको भनाइ छ ।

आफू पनि मिस प्याजेन्टबाट चलचित्रमा आएको स्मरण गर्दै रेखाले चलचित्रमा प्रवेश गरिसकेपछि प्रमाणित गर्नु पर्ने र त्यो क्षमता मिस नेपालहरूमा रहेको बताइन् ।

“म आफैँ पनि मिस प्याजेन्टबाट आएको हुँ । मिस कोशी हुँदै मिस नेपालको टप टेन फाइनलिष्ट हुँ,” उनले भनिन्, “मिस नेपालहरू चलचित्रमा आएर पनि बरालिरहेको देखिन्छ । आयो तर फेरि एपसेन्ट देखिन्छ ।”

झरना बज्राचार्य, सुमी खड्कालगायत चलचित्रमा आएर पनि निरन्तरता नदिएको उनले बताइन् । तर, सृष्टि श्रेष्ठले भने निरन्तरता दिइरहेको रेखाले बताइन् ।

“नम्रता श्रेष्ठ भर्खर आइरहेको छ, उसाले भर्खर ज्वयन गरिरहेको छ । हामी कति कलाकार खोजिरहेका हुन्छौँ, भेटिरहेको हुँदैन,” रेखा भन्छिन्, “तर, आँखै अगाडि यस्तो ट्यालेन्टेड कलाकार हुनुहुन्छ, उहाँहरूलाई लिएर राम्रो चलचित्र किन नबनाउने भनेर हामीले यो पटक सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ट र नीति शाहलाई लिएका हौँ ।”

मिस नेपाल भनेरै भने नलिएको भन्दै उनीहरूमा राम्रो प्रतिभा भएकै कारण लिएको रेखाले प्रष्ट पारिन् । उनीहरूभित्र रहेको प्रतिभा हेर्न भदौसम्म कुर्नुपर्ने रेखाको भनाइ छ । सृष्टि, नम्रता र नीति एकै साथ रेखा थापाको निर्देशन रहने चलचित्र ‘माया भनेकै यस्तै होला’मा देखिनेछन् ।

अभिनेत्री रेखा थापा आठ वर्षपछि ‘माया भनेकै यस्तै होला’बाट निर्देशनमा फर्किएकी छन् । यसअघि उनले ‘हिम्मतवाली’ र ‘मालिका’ गरेकी थिइन् । यो रेखाको तेस्रो निर्देशकीय चलचित्र हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण हुने यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायतको अभिनय रहनेछ ।

यो चलचित्रले बुढ्यौलीपनको कथासँगै युवापुस्ताको प्रेमलाई देखाउनेछ । चलचित्रमा ध्रुव लम्सालको कथा रहनेछ ।

हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको चलचित्रमा सुदीप बराल डिओपी रहनेछ ।

फागुनको दोस्रो साताबाट छायांकन सुरु हुने चलचित्र आगामी वर्षको तीजको अवसर पारेर प्रदर्शन गर्ने निर्माणपक्षको लक्ष्य छ ।