अञ्जना र सविनको जोडी बाँधिएको ‘भटभटे’को छायांकन सुरु

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौड्यालले आफ्नो नयाँ चलचित्र ‘भटभटे’ को छायांकन सुरु गरेका छन् ।

उनको डेब्यू निर्देशन रहने चलचित्रको आइतबारदेखि मधेस प्रदेशको राजधानी जनकपुरधामबाट औपचारिक छायांकन सुरु गरिएको हो ।

यो चलचित्रको अनुमानित बजेट ३ देखि ४ करोड रुपैयाँ तय गरिएको छ । झन्डै ३५ दिनको छायांकन तालिका राखिएको चलचित्र जनकपुरसहित तराईका विभिन्न रमणीय स्थानहरूमा खिचिने निर्माण पक्षले जनाएको छ ।

‘भटभटे’ चर्चित साहित्यकार नयनराज पाण्डेको कथामा आधारित चलचित्र हो । यसको पटकथा स्वयं निर्देशक पौड्यालले तयार पारेका हुन् । विधागत रूपमा यो चलचित्र ‘रोमकम’ (रोमान्टिक कमेडी) र ‘सोसल ड्रामा’को समिश्रण हुनेछ ।

चलचित्रको नामले नै संकेत गरेझैँ यसको कथाको केन्द्रमा ‘मोटरसाइकल’ (भटभटे) र त्यसलाई प्राप्त गर्ने सपना बुन्ने एक युवाको संघर्ष र भोगाइलाई बुनिएको छ ।

चलचित्रमा पछिल्लो समयकी सफल र व्यस्त अभिनेत्री अञ्जना बराइली शीर्ष भूमिकामा देखिँदैछिन् । लगातार दुई ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ र ‘परान’ पछि अञ्जनाको यो नयाँ प्रोजेक्टलाई निकै चासोका साथ हेरिएको छ ।

चलचित्रको छायांकन सुरु भएसँगै अञ्जनाले खुसी व्यक्त गरेकी छन् ।

यस चलचित्रमा अञ्जनाका साथमा चर्चित डान्स ग्रुप ‘कार्टुन्ज क्रू’ का सविन कार्की मुख्य भूमिकामा रहेका छन् । सविन र अञ्जनाको जोडी पर्दामा कस्तो देखिने हो, त्यो हेर्न बाँकी नै छ । यी दुईका साथमा चलचित्रमा रविन्द्र झा र प्रमोद अग्रहरिको पनि अभिनय रहनेछ ।

यो चलचित्रका मुख्य लगानीकर्ता व्यवसायी सुरेश कार्की हुन् ।