तीन दिन पनि हलमा टिक्न कठिन, नाजुक छ कमाई

हलमा दर्शकको प्रतिक्षामा आधा दर्जन नेपाली चलचित्र, ‘आ बाट आमा’बाहेकको अवस्था नाजुक

काठमाडौं । नेपाली चलचित्र हेर्ने दर्शकलाई अहिले रोजीछाडी सिनेमा हलमा छन् । करिब आधा दर्जन नेपाली चलचित्र हलमा छन् ।

‘आ बाट आमा’, ‘कुमारी’, ‘रमिताको पिरती’, ‘बिगुल’ अहिले हलमा छन् । ‘शिवांश’ र ‘श्री बुकुरो’ हिजोसम्म हलमा थिए । आधा दर्जन सिनेमा हलमा छन् । दर्शकले जुन चाह्यो त्यही चलचित्र हेर्न सक्ने अवस्था छ ।

तर, हलमा दर्शक हेर्ने हो भने एउटा सिनेमा बाहेक अरुमा दर्शकको खडेरी छ । यो तथ्यांकले नै देखाउँछ । चलचित्र विकास बोर्डले साप्ताहिक रूपमा सार्वजनिक गर्ने बक्सअफिस तथ्यांकले हलमा चलचित्रको कमाइ नाजुक रहेको देखाएको छ ।

‘कुमारी’ले ५६ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘रमिताको पिरती’ले १९ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

‘आ बाट आमा’ले भने बक्सअफिसमा अनपेक्षित ग्रसकलेक्सन गरिरहेको छ । यो चलचित्रले हालसम्म ८ करोड ३१ लाख माथि ग्रसकलेक्सन गरिसकेको छ । यो दोहोरो अंकको कमाईको छेउमा छ ।

गत शुक्रबार रिलिज भएका चलचित्र झनै कमजोर देखिएका छन् । ‘श्री बुकुरो’ र ‘शिवांश’ तीन दिनभन्दा धेरै हलमा टिक्न सकेनन् । ‘बिगुल’ आजसम्म हलमा छ । तर, यसले पनि राम्रो ग्रसकलेक्सन गरिरहेको छैन ।

यता, निर्माताले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नहुँदासम्मका लागि प्रदर्शन स्थगितको घोषणा गरिसकेको छ ।

ठूलो बजेटमा बनेको र प्रचारमा ठूलो रकम खर्च गरेको चलचित्र ‘कुमारी’ले पनि राम्रो कमाइ गर्न सकेको छैन । ‘कुमारी’ र ‘रमिताको पिरती’ले राम्रै समीक्षा पाए पनि बक्सअफिसमा यी चलचित्रको फितलो उपस्थिति छ ।

ठूलो लगानी, महंगो पब्लिसिटी खर्च, राम्रै समीक्षा, विश्वासिलो टिम र अपेक्षित चलचित्रले पनि सन्तोषजनक ग्रसकलेक्सन गर्न नसक्दा निर्माताको ठूलो रकम डुबिरहेको छ ।

यसले नेपाली चलचित्र क्षेत्रमै अब कसरी र कस्तो चलचित्र बनाउने, सिनेमामा लगानी गर्ने कि नगर्ने भन्ने अन्योलमा देखिएको छ । अपवबादबाहेक चलचित्रले राम्रो कलेक्सन नगर्दा निर्माताहरू के गर्ने भन्ने दोधारमा छन् ।

यो वर्ष ‘ऊनको स्वीटर’, ‘परान’, ‘जेरी अन टप’ र ‘आ बाट आमा’ बाहेक चलचित्रले राम्रो व्यापार गर्न सकेका छैनन् । यसले निर्माता निराश देखिएका छन् । ठूलो परिमाणमा लगानी गर्ने तर हलबाट कति पनि रिटर्न्स नआउँदा निर्माताहरू अब चलचित्रमा लगानी गर्ने कि अर्कै बाटोतर्फ लाग्ने भन्नेमा पुगेका छन् ।

नाम चलेका ब्यानर, नाम चलेका कलाकार र नाम चलेकै निर्देशकले बनाएका चलचित्रले पनि राम्रो व्यापार गर्न नसक्दा निर्माता अन्योलमा देखिएका हुन् ।