सलमानका बुबा सलीम खानको स्वास्थ्य अवस्था चिन्ताजनक
मुम्बई । बलिउडका चर्चित पटकथा लेखक तथा अभिनेता सलमान खानका पिता सलीम खानको स्वास्थ्य अवस्था गम्भीर भएको छ । मुम्बईको बान्द्रास्थित लीलावती अस्पतालमा भर्ना गरिएका ८९ वर्षीय खानलाई हाल भेन्टिलेटरमा राखेर उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
मंगलबार बिहान ८:३० बजे सलीम खानले अचानक असहजता महसुस गरेपछि उनलाई तुरुन्तै अस्पतालको आकस्मिक कक्षमा लगिएको थियो । अस्पताल पुर्याउँदा उनको रक्तचाप निकै उच्च रहेको बताइएको छ । अस्पतालमा गरिएको प्रारम्भिक स्क्यान र परीक्षणका क्रममा उनको मस्तिष्कको दाहिने भागमा रगत जमेको र रक्तस्राव भएको पत्ता लागेको थियो ।
चिकित्सकहरूका अनुसार खानको मस्तिष्कमा देखिएको समस्या समाधान गर्न आकस्मिक शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनलाई सघन उपचार कक्ष (आईसीयू) मा सारिएको छ र हाल भेन्टिलेटरको सहायतामा सास फेरिरहेका छन् । अस्पताल प्रशासनले उनको उपचारका लागि विशेषज्ञ डाक्टरहरूको एउटा टोली नै गठन गरेको छ । अस्पतालले जारी गरेको पछिल्लो जानकारी अनुसार उनको अवस्था ‘स्थिर तर अत्यन्तै गम्भीर’ रहेको छ ।
बुबाको स्वास्थ्य बिग्रिएको खबर पाएलगत्तै अभिनेता सलमान खान आफ्नो चलचित्रको सुटिङ स्थगित गरेर लीलावती अस्पताल पुगेका थिए । सलमानका साथै भाइहरू अरबाज खान, सोहेल खान र परिवारका अन्य सदस्यहरू पनि अस्पतालमै रहेका छन् । सलीम खानका लामो समयदेखिका सहयात्री तथा चर्चित लेखक जावेद अख्तर, अभिनेता सञ्जय दत्त लगायतका बलिउड हस्तीहरू उनलाई भेट्न र स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका छन् ।
सलीम खानको स्वास्थ्यको बारेमा थप जानकारी दिन आज (बुधवार) बिहान ११ बजे अस्पतालले आधिकारिक मेडिकल बुलेटिन जारी गर्ने तयारी गरेको छ । परिवारको सहमतिपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिने अस्पतालले जनाएको छ । यतिबेला सामाजिक सञ्जालमा बलिउडकर्मी र प्रशंसकहरूले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।
सलीम खान भारतीय चलचित्र इतिहासका यस्ता लेखक हुन्, जसले ७० को दशकमा बलिउडलाई नयाँ दिशा दिएका थिए । जावेद अख्तरसँगको उनको जोडी (सलीम–जावेद) ले ‘शोले’, ‘जञ्जिर’, ‘दीवार’, ‘डन’, ‘हाथी मेरे साथी’, ‘सीता और गीता’ र ‘मिस्टर इन्डिया’ जस्ता दर्जनौँ ब्लकबस्टर चलचित्रहरूको पटकथा लेखे । उनले नै बलिउडमा ‘एङ्ग्री योङ म्यान’ को छवि स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए ।


