जितुको जोडीमा प्रियना
काठमाडौं । हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ मार्फत ‘मुन्नी’को रूपमा परिचित अभिनेत्री प्रियना आचार्य अब अभिनेता जितु नेपालको जोडीको रूपमा देखिने भएकी छन् ।
छायांकनको अन्तिम तयारीमा रहेको चलचित्र ‘कार्की साइँला’का लागि निर्माण टिमले प्रियनालाई मुख्य अभिनेत्रीको रूपमा अनुबन्ध गरेको हो ।
प्रियनाले ‘झरीपछिको इन्द्रेणी’ रिलिजको केही समयमै यो चलचित्र साइन गरेकी हुन् ।
चलचित्रको निर्माण पक्ष र अभिनेत्री आचार्यबीच औपचारिक सम्झौता भएसँगै अब यो सिनेमामा जितु र प्रियनाको केमेस्ट्री हेर्न पाइने भएको छ । चलचित्रमा जितु नेपालले ‘कार्की साइँला’को शीर्ष भूमिका निर्वाह गर्दैछन् ।
चलचित्रका निर्देशक राजेन्द्र बस्नेतले प्रियनालाई चलचित्रको भूमिकाका लागि फिट देखेर नै अनुबन्ध गरिएको बताए । उनले भने, “हाम्रो चलचित्रको कथाले एउटा विशेष चरित्रको माग गरेको थियो, जसमा प्रियना पूर्ण रूपमा फिट देखिनुभयो । कार्की साइँलाको कथाले जुन मर्म बोकेको छ, त्यसलाई जीवन्त बनाउन प्रियनाको भूमिका महत्वपूर्ण रहनेछ ।”
कर्णबहादुर फिल्मस् प्रालीको व्यानरमा निर्माण हुने चलचित्रमा जितु र प्रियानाका अलवा सुशील पोखरेल, बिरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई, कमल देवकोटा लगायतको अभिनय रहने छ।
यो चलचित्रको छायाकंन नेपालको पुर्वी जिल्ला धनकुटामा हुने निर्माण पक्षले जनाएको छ ।
कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको यस चलचित्रका निर्माता बालकुमार राई रहेका छन् । डम्बर राईको छायांकन रहने चलचित्रमा रोजल थापा मुख्य सहायक निर्देशक, किरण दाहाल द्वन्द निर्देशक, दिप्सन लिम्बुको संगीत रहने छ ।


