दार्जिलिङबाट बनेको पहिलो नेपाली चलचित्र कुन हो ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा रहेका थुप्रै रेकर्डहरू मध्ये एउटा रेकर्ड ‘परालको आगो’सँग पनि छ । ३० को दशको मध्यतिर प्रदर्शनमा आएको यो चलचित्र पनि रेकर्ड होल्डर सिनेमा हो ।

नेपाली भाषीकोको बसोबास रहेको भारतको दार्जिलिङबाट बनेको पहिलो चलचित्र ‘परालको आगो’ हो । यो चलचित्र वि.स. २०३४ सालमा प्रदर्शन भएको हो । यो चलचित्रलाई प्रताप सुब्बाले निर्देशन गरेका थिए ।

‘परालको आगो’ चलचित्र गुरूप्रसाद मैनालीको कथामा आधारित रहेर बनाइएको सिनेमा हो । ‘परालको आगो’मा टंक शर्मा, बसुन्धरा भुसाल, आइ के सिंह, मेनुका प्रधान मुख्य भूमिकामा थिए । यो चलचित्रमा नेपाल र भारतका कलाकारले काम गरेका थिए । यो चलचित्रका नायक टंक शर्मा भारतमा रंगकर्मी हुन् ।

नेपाली चलचित्रमा विषयका हिसाबले मौलिक र बलियो विषय उठान गर्ने तत्कालीन समयका सीमित चलचित्रमध्ये यो पनि एक हो । यो चलचित्रमा शान्ति ठटालको संगीत छ । पहिलो महिला चलचित्र संगीतकार हुन्, उनी ।

‘परालको आगो’को मुख्य सन्देश श्रीमान्–श्रीमतीको झगडा भनेको परालको आगो जस्तै हो, अथवा परालको आगो जसरी एकै छिनमा निभ्छ, त्यस्तै श्रीमान्–श्रीमतीको झगडा पनि केही छिनमा मिल्छ भन्ने हो । अथवा श्रीमान्–श्रीमतीको झगडालाई यो चलचित्रले परालको आगोसँग तुलना गरेको छ ।

ब्ल्याक एन्ड ह्वाइटमा बनेको यो चलचित्र प्रताप सुब्बाको पहिलो फिचर फिल्म हो । यही सिनेमाबाट उनी फिचर फिल्म निर्देशनमा स्थापित भएका थिए ।