देश चुनावमा होमिएको समयमा बालेनको युट्युबबाट रिलिज भयो ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । चलचित्र ‘झरीपछिको इन्द्रेणी’ युट्युबमा रिलिज भएको छ । अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र रास्वपाका वरिष्ठ नेता बालेन शाहको युट्युब च्यानलबाट रिलिज गरिएको हो ।

माघ २५ गते रिलिज भएको ‘झरीपछिको इन्द्रेणी’ले हलमा प्रदर्शनको ५१औं दिन मनाएको थियो । यो चलचित्र हलमा पुस ४ गतेबाट प्रदर्शनमा आएको थियो । यो चलचित्रले औसत समीक्षा पाएको थियो ।

भ्रष्टाचार र बेथितीविरुद्धको कथावस्तुमा बनेको यो चलचित्रलाई आसन्न प्रतिनिधिसभा निर्वाचन आउन दुई साता बाँकी रहँदा युट्युबमा सार्वजनिक गरिएको हो । चलचित्रले उठाएको विषयवस्तु अहिलेको राजनीतिक परिस्थितिसँग मिल्दोजुल्दो भएकाले आम मानिसलाई सचेत गराउन चुनावको संघारमा युट्युबमा रिलिज गरिएको बुझ्न सकिन्छ ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको ‘झरीपछिको इन्द्रेणी’मा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ ।

यो सिनेमाबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गरेका छन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिएका छन् ।

निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवाद गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । सिनेमाका छायांकार बुद्ध थापा हुन् ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्कीको सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।