सलमानले अरिजीतलाई निदायौ कि क्या हो भनेपछि…
काठमाडौं । बलिउड गायक अरिजीत सिंहको भारतमा मात्रै होइन विश्वभर नै ठूलो नाम र इज्जत छ । आफ्नो शान्त स्वभाव र काममा ध्यान केन्द्रित गर्ने उनको बानीले उनलाई उचाइ मात्रै दिएन, लोकप्रिय पनि बनायो । उनी अन्तर्वार्ताबाट सधैँ टाढा रहने गरेका कारण पनि उनी धेरै खोजिने तर सहजै उपलब्ध नहुने गायकमा पर्छन् ।
अरिजीतको करिअरको सबैभन्दा ठूलो विवाद सलमान खानसँग भएको थियो । २०१४ मा एक पुरस्कार समारोहमा सलमानले अरिजीतलाई सम्मान गर्न स्टेजमा बोलाएपछि सुरु भएको थियो, यी दुईबीचको बिबाद ।
सलमानले अजिरीतलाई स्टेजमा बोलाए । जब अरिजीत आइपुगे, सलमानले ठट्टा गर्दै सोधे, “तिमी निदायौ ?” जवाफमा अरिजीतले एंकरिङ गरिरहेका सलमानलाई भने, “तिमीहरूले मलाई सुताइदियौ यार !”
त्यसपछि सलमान र अरिजीतबीचको सम्बन्ध ३६ को आंकडाका बदलियो । सलमानका सिनेमाका लागि गाइएका अरिजीतका गीतमा अरू गायकको स्वर भर्ने चर्चा चल्यो । त्यसपछि सलमानले ‘सुल्तान’का लागि अरिजीतले गाएको गीत ‘जग घुमिया’ राहत फतेह अली खानलाई गाउन लगाएर बजार ल्याए ।
यद्यपि, त्यसअघि अरिजीतले एक पोस्टमार्फत सलमानलाई आफ्नो आवाज नबदल्न आग्रह गरेका थिए ।
लामो समयसम्म सलमानका चलचित्रमा अरिजीतको आवाज सुनिएन । तर, यो विवादको सात वर्षपछि अरिजीतले ‘टाइगर–३’ मा सलमानलाई आफ्नो आवाज दिए । ‘टाइगर–३’मा अरिजीतले गाएको गीत समावेश गरियो ।
पछि सलमानले आफ्नो कमजोरी रहेको महसुस गरे, सायद, गल्ती आफूबाट भएको स्वीकार गरे । त्यति बेला अरिजीतको कुनै दोष नरहेको उनले बताए । अहिले उनीहरू दुवै धेरै राम्रा साथी हुन् ।
अरिजीतले सलमानको ‘द ब्याटल अफ गलवान’को ‘मातृभूमि’ गीत पनि गाएका छन् । यो सिनेमा अप्रिल १७ मा रिलिज हुँदैछ ।
अरिजीतले ब्लकबस्टर सिनेमा ‘धुरन्धर’को हिट रोमान्टिक गीत ‘गहरा हुआ’ पनि गाएका छन् । उनका सयौँ गीत बलिउडमा हिट छन् । तर, उनले अब पार्श्व गीत नगाउने घोषणा गरेका छन् । कारण, उनी आफैँ चलचित्र बनाउँदैछन् ।


