चुनावको कारण देखाउँदै निर्वाचनपछि आउने चलचित्र पनि पछाडि हट्न बाध्य

काठमाडौं । आसन्न निर्वाचनको सरगर्मी बढेसँगै नेपाली चलचित्र क्षेत्रमा यसको प्रत्यक्ष असर देखिन थालेको छ । चलचित्र मेकरहरुको भनाइमा भनैं अब चुनाव चल्छ सिनेमा चल्दैनन् ।

त्यही भएर होला, निर्वाचनका कारण चलचित्र सर्ने लहर नै चलेको छ । यसै साता फागुन–१ गते रिलिज भएका तीन चलचित्र ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’ ले चुनावकै कारण देखाउँदै आफ्नो प्रदर्शन स्थगित गरिसकेका छन् ।

यता, प्रदर्शनको तयारीमा रहेका चलचित्रहरू धमाधम पछाडि हट्ने क्रम सुरु भएको छ । ‘चुनावकै कारण देखाउँदै निर्वाचनपछि आउने चलचित्र पनि पछाडि हट्यो’ भन्ने चर्चालाई बल पुर्‍याउँदै चलचित्र ‘चमेलीको पोइ’ ले पनि आफ्नो पूर्वनिर्धारित रिलिज मिति स्थगित गरेको छ ।

अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको यो चलचित्र आगामी चैत १३ गते रामनवमीको अवसर पारेर देशभर प्रदर्शन हुने तयारीमा थियो । तर, निर्माण पक्षले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थिति र आसन्न निर्वाचनको माहोललाई मध्यनजर गर्दै चलचित्रको प्रदर्शन तत्कालका लागि रोकेको जानकारी दिएको हो ।

एभरेस्ट सूर्य बोहराको निर्देशनमा तयार भएको यस चलचित्रले केही समयअघि सार्वजनिक गरेको ‘फस्टलुक’ पोस्टरबाटै दर्शकको ध्यान खिच्न सफल भएको थियो । धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्मित यो फिल्मले अहिलेको चुनावी कोलाहलमा चलचित्र प्रदर्शन गर्नु जोखिमपूर्ण हुने ठहर गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामी चलचित्र प्रदर्शनका लागि एउटा शान्तिपूर्ण र सहज माहोलको पर्खाइमा छौँ । चुनावी माहोलले गर्दा दर्शकको ध्यान अन्यत्र मोडिने र सुरक्षाको चुनौती समेत रहने हुँदा यो निर्णय लिइएको हो ।” फिल्मको नयाँ प्रदर्शन मिति भने चाँडै घोषणा गरिने निर्माण पक्षले जनाएको छ ।

शिवम अधिकारीको पटकथा र शेरबहादुर तामाङको छायांकन रहेको यस चलचित्रलाई सुनिता सापकोटा र रामनारायण उपाध्यायले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्मातामा उदयविक्रम राणा, ऋतु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन् ।

चलचित्रमा सुरक्षा पन्तका साथमा मुकुन भुसाल, विल्सनविक्रम राई, रवीन्द्र झा, नारायण त्रिपाठी, प्रेमदेव गिरी, गणेश गौतम, अंशु महर्जन, बबिन राई, उमेश राई, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय छ ।

निर्वाचनअघि र निर्वाचनको लगत्तै पछि आउनुपर्ने चलचित्रहरू यसरी पछाडि हट्दा हल सञ्चालकहरूमा भने केही अन्यौलता देखिएको छ । तर, निर्माताहरू भने जोखिम मोल्नुभन्दा सुरक्षित समय पर्खने रणनीतिमा देखिएका छन् । अब यी चलचित्रहरू कहिले प्रदर्शन हुन्छन् भन्ने कुराको टुंगो निर्वाचनको नतिजा र देशको अवस्थाले नै निर्धारण गर्ने देखिन्छ ।