अभिनेत्री नीतिले कसिन् प्रेमी याञ्चितसँग लगनगाँठो

काठमाडौं । पूर्वमिस मिस इन्टरनेशनल नेपाल तथा अभिनेत्री नीति शाह वैवाहिक जीवनमा बाँधिएकी छन् । लामो समयदेखिको प्रेम सम्बन्धलाई उनले शुक्रबार औपचारिक रुपमा विवाहमा परिणत गरेकी हुन् ।

नीतिले आफ्ना प्रेमी याञ्चित राणासँग काठमाडौंको एक होटलमा भव्य समारोहबीच विवाह गरेकी हुन् । अहिले होटलमा उनीहरूको वैवाहिक उत्सव र भोज चलिरहेको छ, जहाँ परिवारका सदस्य, आफन्त र चलचित्र क्षेत्रका केही निकट व्यक्तित्वहरूको उपस्थिति रहेको छ ।

नीति र याञ्चित विगत ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरूले यसअघि नै कानूनी रुपमा विवाह गरिसकेका छन् । गत वैशाख महिनामा काठमाडौं जिल्ला अदालतमा उनीहरूले ‘कोर्ट म्यारिज’ गरेका थिए । कानूनी विवाह गरेको करिब १० महिनापछि उनीहरूले अहिले सामाजिक र परम्परागत रुपमा विवाह उत्सव मनाएका हुन् ।

सन् २०१७ मा ‘मिस इन्टरनेशनल नेपाल’को उपाधि जितेपछि नीतिको चर्चा एकाएक चुलिएको थियो । मोडलिङमा स्थापित भएपछि उनले चलचि ‘खजुरे ब्रो’ मार्फत अभिनेत्रीको रुपमा डेब्यु गरेकी थिइन् ।

२०८१ सालमा प्रदर्शन भएको उनको डेब्यु चलचित्र ‘खजुरे ब्रो’ व्यावसायिक रुपमा सफल हुन सकेन । त्यसपछि प्रदर्शनमा आएका सिनेमाहरू ‘ज्वाइँ साब’ र ‘नरसिंहा अवतार’ ले पनि बक्स अफिसमा खासै जादु चलाउन सकेनन् ।

लगातार तीन चलचित्र असफल भएपछि उनको करियरलाई लिएर विभिन्न अड्कलबाजीहरू भएका थिए । तर, यसै वर्ष प्रदर्शनमा आएको ‘मोहर’ नीतिका लागि सुखद सावित भयो । यो सिनेमाले बक्स अफिसमा राम्रो व्यापार गरेसँगै नीतिले अभिनेत्रीको रुपमा पहिलो पटक सफलताको स्वाद चाख्न पाइन् ।

वैवाहिक जीवनमा प्रवेश गरे पनि नीतिको व्यावसायिक करियर झन् व्यस्त देखिने भएको छ । हाल उनको हातमा आधा दर्जनभन्दा बढी सिनेमाहरू छन् ।