चलचित्र राम्रो बनाऔँ, बाहानाबाजी गर्नै पर्दैन

फागुन–१ गते रिलिज भएका तीनवटै नेपाली चलचित्र सिनेमा हलबाट उतारिएका छन् । ‘श्री बुकुरो’, ‘शिवांश’ र ‘बिगुल’ रिलिज भएकामा यी तीन ओटै चलचित्र हलबाट उतारिएका छन् ।

यी चलचित्रले चुनावका कारण सिनेमा हेर्ने माहोल नरहेको भन्दै प्रदर्शन स्थगन गर्नु परेको बताएका छन् । चुनावका कारण र प्रचारप्रसार नपुगेकैले हाललाई प्रदर्शन स्थगन गर्नु परेको दाबी गरेका छन् ।

यसअघि अर्को चलचित्र ‘द ब्ल्यू लाइट’ले पनि चुनावलाई कारण देखाउँदै प्रदर्शन स्थगन गरेको थियो । यसकै बाटो ‘श्री बुकुरो’, ‘बिगुल’ र ‘शिवांश’ले पछ्याएका हुन् ।

निर्वाचनलाई कारण देखाए पनि चलचित्र हेर्न दर्शक हलसम्म नजानुको अन्तरनिहित कारण अर्कै रहेको बुझ्न सकिन्छ । किनकि यी चलचित्रको बक्सअफिस कलेक्सन निकै न्यून छ ।

उच्च संख्यामा शो पाएका चलचित्र दर्शकको अभावमा हलबाट करिबकरिब उत्रिसकेपछि यी सिनेमा उतारिएको हो । सकेसम्म दर्शक हलसम्म तान्न प्रयास गरेका निर्माताले बिजनेस राम्रो हुने संकेत नदेखेपछि अन्ततः सिनेमा उतारेका हुन् । किनकि यी चलचित्र थप एक वा दुई दिनमा सिनेमा घरबाट बाहिरिने अवस्थामा पुगिसकेका थिए ।

निर्वाचन आजको भोलि गर्ने भनेर एक महिना अगाडि तय भएको होइन । ६ महिना अगाडि निर्वाचनको मिति तय भइसकेको थियो । निर्वाचनमा जनताको चासो हुन्छ, र सबै विषय ओझेलमा पर्छ भन्ने सबैलाई थाहा भएकै विषय हो ।

तर, २१ दिन पछि आउँदै गरेको निर्वाचनलाई चलचित्र निर्माता र वितरकले नजरअन्दाज गरे । चलचित्रका अगाडि निर्वाचन केही होइन भने झैँ गरे । चलचित्र रिलिज भएपछि सबै जनता हलमा सिनेमा हेर्न ओइरिन्छन् भन्ने सोच निर्मातामा रहेको देखियो । तर, जब चलचित्र रिलज भए र दर्शकले सिनेमा बेवास्था गरिदिए निर्माता झसङ्ग भए । जब हल खालीखाली भए, अनि बल्ल होसमा आए, ओहो ! निर्वाचन पो छ है भनेझै गरेर ।

तीन सातापछि हुने निर्वाचनले असर गर्छ भन्ने पनि थाहा हुँदैन ? यदि, हुँदैन भने त्यो भन्दा ठूलो अनविज्ञता र वेखबर के हुन्छ ? यो त हलमा दर्शक आएनन् भनेर सहमत भएको सन्दर्भमा मात्रै हो ।

तर, निमार्ताले चुनावको बाहाना मात्रै बनाएका हुन्, यथार्थमा चलचित्रले हलमा दर्शक तान्न नसकेको हो भन्ने तर्क बलियो छ । किन भने यही समय ‘आ बाट आमा’ले राम्रो ग्रसकलेक्सन गरिरहेको छ । १० करोड रुपैयाँ नेपाली बक्सअफिसबाटै ग्रसकलेक्सन गरिसकेको छ ।

कुनै एउटा चलचित्रलाई चुनावले असर गर्ने तर अर्कोलाई नगर्ने भन्ने पक्कै हुँदैन । त्यसैले विभिन्न बहानाबाजी गर्नुभन्दा पनि चलचित्र राम्रो बनाऔँ, चलचित्र चलेन भने के बाहाना बनाउने भनेर टाउको दुखाउनै पर्दैन ।