‘दिमाग खराब’ र ‘झरीपछिको इन्द्रेणी’ बालेनको भिजुअल घोषणापत्र बन्दैछन् ? बदल्लान् मतदाताको मुड ?

पवन भट्टराई

काठमाडौं । कुनै समय थियो आफ्नो पक्षमा मतदानको माहोल बनाउन सहर होस् वा गाउँ, माइकिङ गरिन्थ्यो, भित्ताहरू पोष्टरले रङ्ग्याइन्थ्यो र चोक–चोकमा आमसभा हुन्थे । अहिले पनि केही हदसम्म माइकिङ हुन्छ । आमसभा त हुने नै भए ।

तर, समय बदलिएको छ । अब निर्वाचनको प्रचार फेसबुकका वाल र युट्युबका स्क्रिनहरूमा सरेको छ । झण्डा बोकेर हिँड्ने कार्यकर्ताभन्दा ‘भाइरल’हुने भिडियोले निर्वाचनको नतिजा बदल्ने संकेत देखिन थालेको छ ।

पुराना राजनीतिक दलहरू अझै पनि आमसभा, माइकिङ र कार्यकर्ता परिचालनमा विश्वास गर्छन् । तर, काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा रास्वपाका वरिष्ठ नेता बालेन शाह र उनको टिमले ‘सफ्ट पावर’ (सिनेमा, संगीत र कला)लाई आफ्नो हतियार बनाउने प्रयास गरिरहेका छन् ।

यतिबेला सामाजिक सञ्जाल र युट्युबमा दुईवटा चलचित्रको चर्चा छ, ‘दिमाग खराब’ र ‘झरीपछिको इन्द्रेणी’ । यी सिनेमाहरू केवल मनोरञ्जनका लागि मात्र होइनन्, यिनले बोकेको ‘एजेन्डा’ले आसन्न निर्वाचनका मतदाताको मनोविज्ञानमा गहिरो प्रहार गरिरहेको धेरैको टिप्पणी छ ।

बालेनले आफ्नै आधिकारिक युट्युब च्यानलबाट अर्जुन घिमिरे (पाँडे)को निर्देशन रहेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ सार्वजनिक गरे । यो चलचित्रको शीर्षकले नै एउटा ठूलो सन्देश बोकेको छ ‘झरी’ अर्थात् अहिलेको राजनीतिक बेथिति र धमिलोपन र ‘इन्द्रेणी’ अर्थात् बालेन र उनीजस्तै नयाँ अनुहारले ल्याउने आशाको किरण ।

भ्रष्टाचार र बेथितिविरुद्धको कथावस्तुमा बनेको यो चलचित्रलाई आसन्न प्रतिनिधिसभा निर्वाचन आउन दुई साता बाँकी रहँदा युट्युबमा सार्वजनिक गरिएको हो । चलचित्रले उठाएको विषयवस्तु अहिलेको राजनीतिक परिस्थितिसँग मिल्दोजुल्दो भएकाले आम मानिसलाई सचेत गराउन चुनावको संघारमा युट्युबमा रिलिज गरिएको धेरैको आंकलन छ ।

यो चलचित्रले एउटा यस्तो पुस्ताको कथा भन्छ, जो विद्यमान राजनीतिक बेथिति र भ्रष्टाचारबाट दिक्क छ, र परिवर्तनका लागि ‘विद्रोह’ गर्न तयार छ । मतदाताका लागि यो फिल्म एउटा भिजुअल मेनिफेस्टो (दृश्य घोषणापत्र) जस्तो बनेको छ ।

यता, निर्देशक निश्चल बस्नेतले निर्वाचनको सँघारमै चलचित्र ‘दिमाग खराब’ युट्युबमा ल्याउनुलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । चलचित्रले एउटा सर्वसाधारण नागरिकले राज्यसत्ता र नेताहरूबाट भोग्नुपर्ने सास्ती र अपमानको चित्रण गर्छ ।

चलचित्रको अन्त्यले दर्शकको मनमा एउटा प्रश्न छोड्छ, ‘के हामी अझै पनि तिनै पुराना पात्रहरूलाई चुनिरहने जसले हाम्रो दिमाग खराब गरिरहेका छन् ?’ यो प्रश्नले विशेषगरी स्विङ भोटर्स (निर्णय नलिएका मतदाता)लाई नयाँ विकल्पतर्फ धकेल्न मद्दत गरिरहेको छ । त्यसो त यो चलचित्रले रास्वपालाई समर्थन गरेको हल रिलिजका बेला आएका केही समीक्षामै उल्लेख थियो ।

‘दिमाग खराब’ले समस्या देखाउँछ भने ‘झरी पछिको इन्द्रेणी’ले पुराना नेता र पार्टीहरूप्रति घृणा र आक्रोश पैदा गर्छ । यो आक्रोश जब मतदान केन्द्रमा पुग्छ, तब त्यो ‘विद्रोही भोट’मा परिणत हुन्छ भन्नेमा यसका सर्जक तथा सरोकारवालाको विश्वास रहेको हुनसक्छ । होइन भने निर्वाचनको संघारमा पैसा नतिरी हेर्ने मिल्ने डिजिटल प्लेटफर्म युट्युबमा किन आए भन्ने तर्कलाई बेवास्था गर्न सकिँदैन । यसमा पनि सुरुदेखि नै बालेनको खम्बा बनेर उभिरहेका निश्चल बस्नेत र अर्जुन घिमिरे यी सिनेमाका मुख्य सर्जक भएकाले यो तर्कलाई अनदेखा गर्न सकिँदैन ।

जब एउटा मतदाताले यी चलचित्र हेर्छन्, उसले केवल मेयरका रूपमा मात्र देख्दैन । बरु आफ्नो घरको समस्या र देशको पीडा बुझ्ने एउटा ‘नायक’का परिकल्पना गर्छ । यसले भोट हाल्ने बेला ‘हाम्रो मान्छे’ भन्दा ‘राम्रो मान्छे’ रोज्ने मनोविज्ञान विकास गर्छ ।

आम जनतामा पुराना दलहरूप्रति जुन आक्रोश छ, यी फिल्मले त्यसलाई शब्द र दृश्यमार्फत थप बलियो बनाउँछन्, र विकल्प खोज्न प्रेरित गर्छन् ।

यसले मतदातालाई ‘यसपालि बदल्नुपर्छ’भन्ने मानसिक रुपमा तयारी गराउँछ । जसको प्रत्यक्ष फाइदा बालेन, रवि लामिछाने र उनीहरूजस्तै उमेदवारहरू नै देशको आवश्यकता हुन् भन्ने भाष्य स्थापित गर्न यी चलचित्रहरू सहयोगी सिद्ध हुन सक्छन् ।

नेपाली निर्वाचनमा ‘मासु–भात’ र पैसाको राजनीति सधैँ चर्चामा रहन्छ । तर, यो पटक चलचित्र ‘दिमाग खराब’ र ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक गरेर मोबाइलको स्क्रिनमार्फत मतदाताको घर–घरमा पुगेर त्यो परम्परागत शैलीलाई चुनौती दिएका छन् ।

युट्युबमा लाखौँ भ्युज र हजारौँ सकारात्मक कमेन्टहरूले मतदाता अब भाषण सुनेर होइन, आफूले भोगेको सास्तीलाई फिल्ममा देखेर र त्यसको विकल्प खोज्दै मतदान केन्द्र पुग्छन् र विकल्प खोज्ने त होइनन् भन्ने संकेत देखिन्छ ।

मानिसलाई तथ्यांक वा भाषणले भन्दा कथा वा भिडियोले चाँडो प्रभाव पार्छ । त्यसैले त चलचित्रलाई ‘सफ्ट पावर’ भनिएको हो । ‘दिमाग खराब’ र ‘झरी पछिको इन्द्रेणी’ले नेपाली मतदातालाई एउटा सन्देश दिने प्रयास गरेका छन्, ‘पुरानो व्यवस्था भिलेन हो र नयाँ सोच नायक हो ।’

चलचित्र हेरेकै भरमा मान्छेले भोट हाल्छन् त ? पक्कै पनि सबैले हाल्दैनन् । तर, यी सामग्रीहरूले मतदाताको सब–कन्सस माइन्ड (अवचेतन मन)मा एउटा बीज रोपिदिन भने सक्छन् । जब मतदाताले मतपत्रमा छाप लगाउन हात अघि बढाउनेछन्, तब फिल्ममा देखिएका ती भ्रष्ट पात्रहरू र ‘दिमाग खराब’ गराउने दृश्यहरू उनीहरूको आँखा अगाडि नाचिरहनेछन् ।

अर्जुन घिमिरेले ‘झरी पछिको इन्द्रेणी’ र निश्चल बस्नेतले ‘दिमाग खराब’मार्फत आगामी निर्वाचनको नतिजामा एउटा अदृश्य तर शक्तिशाली ‘भोट बैंक’ तयार पारिसकेका त छैनन् भनेर प्रश्न गर्न सकिन्छ । युट्युबको ‘भ्युज’ र ‘कमेन्ट’ भोलि मतपेटिकामा ‘भोट’मा रुपान्तरण होला ? यो भने फागुन २१ पछि नै थाहा हुनेछ ।