देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट उत्रियो ‘कुमारी’

काठमाडौं । देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट चलचित्र ‘कुमारी’ उत्रिएको छ । माघ २३ गतेबाट रिलिज भएको चलचित्र आइतबार क्यूएफएक्सका काठमाडौंका कुनै पनि आउटलेटमा देखिएको छैन ।

शनिबारसम्म भने ‘कुमारी’ क्यूएफएक्सका काठमाडौंका आउटलेटमा केही शोमा उपलब्ध थियो । आईएनआईलगायत केही हलमा भने यो चलचित्र प्रदर्शनरत छ ।

‘कुमारी’ क्यूएफएक्सबाट उत्रिएसँगै अब हलमा नेपाली चलचित्र ‘आ बाट आमा’ र ‘रमिताको पिरती छन् । तर, ‘रमिता’को पिरती’ पनि न्यून शोमा छ ।

दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘कुमारी’को कथा विकास सुवेदीले लेखेका हुन् । महेन्द्र अधिकारीले लगानी गरेको चलचित्र ‘कुमारी’मा अविषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मा लगायत कलाकारको अभिनय रहेको थियो ।

चलचित्रका कार्यकारी निर्माता केदार भुसाल थिए । ‘कुमारी’मा सुशन प्रजापतिको छायांकन र सुप्रिम पराजुलीको सम्पादन रहेको थियो ।

चार करोडमा हलमा आइपुगेको यो चलचित्रले एक करोड रुपैयाँभन्दा माथि पब्लिसिटीमा मात्रै खर्च गरेको थियो । बक्सअफिसमा निकै कमजोर देखिएको यो चलचित्रले एक करोडको आंकडा पनि छुन सकेन ।