पल शाहलाई जन्म दिनको उपहार– ‘आ बाट आमा–२’, सिक्वेल निर्माणको घोषणा

काठमाडौं । चलचित्र ‘आ बाट आमा’ बक्सअफिसमा सफल भएपछि यसको सिक्वेल घोषणा गरिएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकार पल शाहको जन्म दिनको अवसर पारेर चलचित्र ‘आ बाट आमा–२’ निर्माणको घोषणा गरेको हो ।

चलचित्रको थिम पोस्टर पनि निर्माणपक्षले सार्वजनिक गरेको छ । जसमा पल शाह छन् । उनी झुत्रो मैलो लुगा र जुङरुङ्ग कपालमा चौरमा छन् । उनी सडकमा माग्दै हिँड्ने जस्तो क्यारेक्टरमा छन् ।

यो चलचित्रलाई पनि चन्द्र पन्तले निर्देशन गर्नेछन् । कथा र स्क्रिनप्ले पनि उनकै रहनेछ । चलचित्र ‘आ बाट आमा–२’ २०८३ को दशैँमा रिलिज हुने निर्माणपक्षले बताएको छ ।

‘आ बाट आमा’ बक्सअफिसमा चौथो हप्तामा सफलतापूर्वक चलिरहेको छ । यो चलचित्रले घरेलु बक्सअफिसबाट मात्रै १० करोडभन्दा माथि ग्रसकलेक्सन गरिसकेको छ ।

पल शाह मुख्य भूमिकामा रहेको चलचित्रले बक्सअफिसमा सफलता प्राप्त गरेपछि हौसिएको निर्माणपक्षले उनलाई जन्मदिनको उपहारस्वरुप सिक्वेल निर्माणको घोषणा गरेको हो ।

दुई दिन अगाडि मात्रै ‘मोहर–२’ पनि घोषणा गरिएको थियो । पलका चलचित्र लागातार बक्सअफिसमा सफल भएपछि उनले अभिनय गरेका चलचित्रको सिक्वेल घोषणा गर्न थालिएको छ । ‘मोहर’ र ‘आ बाट आमा’ चलचित्रको बजार सुस्ताइरहेका बेला बक्सअफिसमा सफल भएका हुन् ।

यी चलचित्रको सफलतासँगै अबको समय चलचित्र उद्योगमा पल व्यस्थ नायक हुने संकेत देखिएको छ ।

माघ १६ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘आ बाट आमा’मा पल शाहसँगै विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित विष्टलगायतको अभिनय छ ।

‘आ बाट आमा’लाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक पन्तकै छ । अभिमन्यू निरवीद्वारा लिखित संवादमा अमर न्यौपाने, अभिमन्यू निरवी र चन्द्र पन्तले सहकार्य गरेका छन् । चलचित्रलाई नवराज उप्रेतीले खिचेका छन् ।

‘आ बाट आमा’ पल शाहको करियरकै सबैभन्दा हिट सिनेमा बनेको छ ।