त्यो हिरो को हो जसले चलचित्रमा अनुबन्ध हुँदा रगतले औंठा छाप लगायो ?
काठमाडौं । कुनै पनि कागजमा ल्याप्चे लगाउँदा कालो मसीले लगाएको त सबैलाई थाहै छ । अलि पहिला, जुन बेला मसी बनिसकेको थिएन । त्यो समय हाँडीको कालोमा तेल मोलेर कालो बनाएर ल्याप्चे लगाएको पनि केहीले सुन्नु भएको होला ।
तर, यहाँ अलि फरक तरिकाले ल्याप्चे लगाएको कुरा छ । एकजना कलाकारले रगतले औंठा छाप लगाएको कुरा बाहिरिएको छ । निर्देशक स्वयंले नायकले रगतले औंठा छाप लगाएको बताएका छन् । फण्डाबाजी खासै नगर्ने निर्देशकले नै यस्तो बताएपछि पत्याउनै प¥यो ।
चलचित्र हो ‘महाराजधिराज’ र निर्देशक हुन् परिच्छेद सेन । “जहाँ पसिना सकिन्छ, त्यहाँबाट रगतको कथा सुरु हुन्छ । एउटा सर्जकका लागि उसको कृति सन्तानजस्तै हुन्छ, जसलाई जन्माउन पसिना मात्र होइन, रगत बगाउनुपर्छ,” निर्देशक सेनले लेखेका छन्, “अब म ढुक्क छु, एउटा सुन्दर इतिहास लेखिन्छ– महाराजधिराज ।”
तर, रगतले औँठा छाप लगाउने चाहिँ नायक को हुन् ? त्यो भने उनले प्रष्ट पारेका छैनन् । करारपत्र सार्वजनिक गरे पनि हिरोको नाम भने लुकाएका छन् ।
आगामी चैत ७ गते छायाकंनमा जाने यो चलचित्र भने २०८३ को दशैँमा रिलिज हुने निर्देशक सेनले जानकारी दिएका छन् ।
‘महाराजधिराज’लाई छत्रेश्वरी म्यानेजमेन्ट प्रा.लि.ले निर्माण गर्दैछ । यो चलचित्रका निर्माता विराज विष्ट हुन् । लेखक निर्देशक परिच्छेद सेन स्वयं हुन् ।
“यस चलचित्र ‘महाराजाधिराज’मा मुख्य भूमिका निर्वाह गर्न पाउनु मेरा लागि गौरवको विषय हो । यो चलचित्र मेरो कला यात्राको एक महत्वपूर्ण खुड्किलो हुनेमा म पूर्ण विश्वस्त छु । यस चलचित्रको कथा, पटकथाले मागेको चरित्रको गहिराईलाई आत्मसात गर्दै, त्यसलाई न्याय गर्न म शारीरिक, मानसिक र भावनात्मक रुपमा पूर्ण रुपमा समर्पित रहनेछु,” रगतले औंठा छाप लगाउँदै करार पात्रमा नायकले लेखेका छन्, “चरित्रलाई पर्दामा जीवन्त उतार्न म आफ्नो शतप्रतिशत लगाव र इमान्दारिता दिने संकल्प गर्दछु । यो प्रोजेक्ट मेरो लागि सर्वोच्च प्राथमिकतामा रहनेछ ।”
चलचित्रलाई उत्कृष्ट बनाउन म कुनै कसर बाँकी नराख्ने उनले प्रतिबद्धता जनाएका छन् । “यो चलचित्रको सम्पूर्ण कार्य सम्पन्न नहुन्जेलसम्म म आफ्नो सम्पूर्ण समय र ध्यान महाराजाधिराजमा मात्र केन्द्रित गर्नेछु । यस प्रोजेक्टको अवधिभर म अन्य कुनै पनि चलचित्र, म्युजिक भिडियो, टिकटक, इन्स्टाग्राम, युट्युब भिडियोलगायतका कुनै पनि दृश्य सामग्रीहरुमा संलग्न हुने छैन,” ती नायकले लेखेका छन्, “चरित्र अनि चलचित्रको गोपनीयता जोगाउँदै, चरित्रलाई पर्दामा जीवन्त उतार्नु मेरो मुख्य उत्तरदायित्व हुनेछ । यस चलचित्र ‘महाराजाधिराज’को गहिराइ र गरिमालाई मध्यनजर गर्दै म यो करारपत्रमार्फत आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गर्दछु ।”
करारपत्रमा उल्लेख रहेको एक वाक्यले म्युजिक भिडियोमा पनि काम गरिरहेका नायक भन्ने प्रष्ट पारेको छ । यसले भइरहेका नायकहरूको दायरा केही साँघुरो बनाइदिएको छ । चलचित्रमा काम गर्ने गरेको नायक भनेपछि पल शाह, नाजिर हुसेन, पुष्प खड्का र आकाश श्रेष्ठ हुन् । यी मध्ये नै कोही हो कि भन्ने अनुमान गर्न सकिन्छ ।
तर, यसमध्ये ‘महाराजाधिराज’ टिमले अघिल्लो वर्ष सार्वजनिक गरेको पोस्टरमा ‘पल शाह’ थिए । तर, केही महिना अगाडि दुवै पक्षको सहमतिमा उनले यो चलचित्र छाडिसकेका छन् । त्यसैले करार पत्रका केही वाक्यले नायकको घेरा र संख्या सानो बने पनि ‘महाराजाधिराज’को नायक को हो भनेर यकिन नै गर्न भने कठिन छ ।


