‘राम नाम सत्य’को गीतमा विराज र सुपुष्पा रोमान्टिक अवतारमा

काठमाडौं । माइकल चन्दको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राम नाम सत्य’को पहिलो गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले लोकलयमा आधारित ‘धागोले बाटेको’ बोलको रोमान्टिक गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार सुरु गरेको हो ।

गायक बाबुल गिरी र पछिल्लो समयकी लोकप्रिय गायिका रचना रिमालको सुमधुर स्वर रहेको सार्वजनिक गीतमा डा. डीआर उपाध्यायको शब्द रचना तथा गायक गीत स्वयंको संगीत छ ।

चैत्रको २७ गतेबाट रिलिजमा आउन लागेको चलचित्रको भिडियोमा सिनेमाका मुख्य पात्र विराज भट्ट र सुपुष्पा भट्टलाई फिचर गरिएको छ । सधैं एक्सन अवतारमा देखिने विराज यसपटक सुपुष्पासँग निकै रोमान्टिक मुडमा देखिएका छन् । एकअर्काको मायामा समर्पित जोडीको भावनालाई गीतमा कलात्मक ढंगले प्रस्तुत गरिएको छ, जसको कोरियोग्राफी सियोन श्रेष्ठले गरेका हुन् ।

एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण भएको यस चलचित्रमामा विराज भट्ट, सुपुष्पा भट्टको साथमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ ।

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको यो चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् ।

मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको चलचित्रका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य हुन् । चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ ।

माइकल चन्दकै कथा र पटकथा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।

चलचित्रमा राजेन्द्र मोक्तानको कलर, नवराज शर्माको मुख्य निर्देशन, साहिल खानको टिजर र ट्रेलर छ । चलचित्रका स्क्रिप्ट सल्लाहाकार अभिमन्यू निरवी र समय थपलिया हुन् ।