११ महिनापछि चलचित्र रिलिज हुँदा विपीनलाई किन तनाव ?

काठमाडौं । वैशाख २६ गते रिलिज भएको चलचित्र ‘ऊनको स्वीटर’मा मुख्य भूमिकामा विपीन कार्की थिए । त्यसयता विपीन अभिनीत कुनै पनि चलचित्रप प्रदर्शन भएका छैनन् । ‘ऊनको स्वीटर’ भने बक्सअफिसमा हिट भएको थियो । यो चलचित्रपछि नेपाली चलचित्रलाई निकै धेरै समय कुर्नुपर्यो ।

लामो समय हलमा नदेखिएका विपीनका अब भने एकै साथ दुईवटा चलचित्र रिलिज हुने भएका छन् । ‘काजी’ र ‘पहाड’ विपीनका चलचित्र हुन् । यी चलचित्र एकै दिन त रिलिज हुने छैनन् । तर, एकै दिन प्रदर्शनमा नआए पनि यी चलचित्रको प्रदर्शनको अन्तर धेरै दिनको छैन ।

चैत २७ मा ‘काजी’ र वैशाख १ मा ‘पहाड’ रिलिज हुँदैछन् । अब यी चलचित्रमध्ये कसलाई विपीनले प्राथमिकतामा राख्नेछन् भन्ने हेर्न बाँकी छ । प्रदर्शनका हिसाबले यी चलचित्र एकअर्काका प्रतिस्पर्धी हुन् । कसलाई समय धेरै दिने र कसलाई कम दिने भन्नेमा विपीनलाई समस्या हुने निश्चित छ ।

त्यसैले यी चलचित्र करिबकरिब सँगै दशर्कमाझ आउँदा विपीनलाई भने उत्साह भन्दा तनाव हुनेछ ।

‘काजी’लाई लक्ष्मण रिजालले निर्देशन गरेका छन् । विपीनसँगै केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।

रिजाल एण्ड रिजल प्रोडक्सनको ब्यानरमा निर्माण रहेको सिनेमालाई राम प्रसाद रिजालले निर्माण गरेका हुन् ।

‘पहाड’लाई तुलसी घिमिरेले निर्देशन गरेका छन् । यो चलचित्रमा विपीनसँगै सुनील थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारले अभिनय गरेका छन् ।

निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरे यही चलचित्रमार्फत अभिनेत्रीका रूपमा दर्शकसामु आउँदैछिन् ।

चलचित्रको प्राविधिक समूहमा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले ‘प्रोडक्सन डिजाइनर’को जिम्मेवारी सम्हालेकी छन् । चलचित्रमा रञ्जित गजमेरले संगीत दिएका छन् ।