चलचित्र ‘लालिमा’को टिजर सार्वजनिक

काठमाडौं । चलचित्र ‘लालिमा’को दोस्रो टिजर सार्वजनिक भएको छ । यौन कर्मीको समस्यामा आधारित रहेर बनाइएको चलचित्रको दोस्रो टिजरमा नायिका रोशनी कार्की केन्द्रमा छिन् ।

टिजरमा रोशनीसँग नायिकाहरु सुष्मा निरौला, उषा रजक र नायक जीवन भट्टराई पनि छन् ।

समस्यामा परेकी रोशनीलाई सुष्मा र उषाले साथ दिएको टिजरमा देख्न सकिन्छ । कलाकार शिशिर वाङ्देल र सबिन कट्टेल पनि टिजरमा अटाएका छन् ।

टिजरका दृश्यले यौनकर्मीको जीवन संघर्षलाई चित्रण गरिएको स्पष्ट संकेत गर्छ । कोठाभित्र रोइरहेकी रोशनीलाई सुष्मा निरौलाले अंकमाल गरेको दृश्यबाट सुरू हुने टिजरमा रोशनीको संघर्षपूर्ण पारिवारिक जीवन, यौनकर्ममा लागेपछिको पीडा र प्रेम जीवनलाई प्रस्तुत गरिएको छ ।

यौनकर्मीको चरित्रमा रहेकी रोशनीको काखमा बच्चा छ, जहाँ उनलाई बच्चा बोकेर कतै जाँदै गरेको पनि देख्न सकिन्छ ।

तीन हजार यौन कर्मीको अनुभव र समस्यामा आधारित रहेर बनाइएको ‘लालिमा’ फागुन २९ बाट प्रदर्शनमा आउने छ । चलचित्रको लेखक र निर्देशक रोशन मिराज हुन् ।

फेथ आस्थाको प्रस्तुतिमा बनेको यो चलचित्रकी कार्यकारी निर्माता रीना लामा हुन् ।