४ लाख २३ हजार बढी दर्शकले हेरे ‘आबाट आमा’, कमाइ कति ?
काठमाडौं । चलचित्र ‘आबाट आमा’ले घरेलु बक्स अफिसमा तहल्का मच्चाएको छ । चौथो हप्तामा प्रदर्शनको भइरहेको चलचित्रले उत्साहजनक व्यापार गर्दै ११ करोड रुपैयाँभन्दा बढीको ग्रस कलेक्सन गर्न सफल भएको छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको पछिल्लो बक्स अफिस रिपोर्ट अनुसार ‘आबाट आमा’ यो वर्षको सर्वाधिक कमाइ गर्ने चौथो चलचित्र बनेको छ । यसअघि तीन चलचित्र ‘ऊनको स्वीटर’, ‘जेरी अन टप’ र ‘परान’ले ११ करोड ४१ लाखभन्दा बढीको व्यापार गरेका थिए ।
गत माघ १६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको चन्द्र पन्त निर्देशित यो चलचित्रले फागुन ९ गते शनिबारसम्मको अवधिमा कुल ११ करोड २४ लाख ६ हजार ९६९ रूपैयाँ संकलन गरेको छ ।
व्यापारिक हिसाबले मात्र नभई दर्शकको उपस्थितिको आधारमा पनि चलचित्र अगाडि नै देखिएको छ । सिनेपाः बक्सअफिस रिपोर्ट अनुसार यस अवधिमा ‘आबाट आमा’ का कुल ४ लाख २३ हजार १११ वटा टिकट बिक्री भएका छन् ।
‘आबाट आमा’ हेर्नेको यो सङ्ख्याले यस चलचित्रप्रति दर्शकको बढ्दो आकर्षण र बलियो ‘वर्ड अफ माउथ’लाई पुष्टि गर्छ । विशेषगरि, बाबुआमा र सन्तानबीचको भावनात्मक सम्बन्ध, वैदेशिक रोजगारी र त्रिकोणात्मक प्रेमकथामा आधारित यो चलचित्रले विशेषगरी हलमा पारिवारिक दर्शक तानिरहेको छ ।
अब धेरैको चासो ‘आ बाट आमा’ यस वर्षको सबैभन्दा धेरै कमाउने चलचित्र बन्न सक्छ कि सक्दैन भन्नेमा छ । त्यसका लागि यो ‘परान’को कमाइलाई उछिन्नु पर्ने हुन्छ । यसले १७ करोड ८४ लाख ४७ हजार रुपैयाँ ग्रस कमाएको थियो । फागुन २१ गते प्रतिनिधि सभाको चुनाव भएकाले ‘आ बाट आमा’लाई ‘परान’को कमाइ उछिन्न सहज भने देखिँदैन । यो चलचित्रले चुनावअघिसम्म १३ करोडको आँकडा पार गर्न सक्ने अनुमान गरिएको छ ।
कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता रहेको यस चलचित्रमा अभिनेत्री विपना थापा, पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ ।
चलचित्रले बक्स अफिसमा सोचेभन्दा राम्रो व्यापार गरेपछि निर्माण पक्ष थप उत्साहित बनेको छ । चलचित्र सुपरहिट भएसँगै निर्देशक पन्त र निर्माण टिमले यसको सिक्वेल अर्थात् ‘आबाट आमा २’ निर्माण गर्ने औपचारिक घोषणा समेत गरिसकेका छन् ।
चलचित्र विकास बोर्डले ‘आबाट आमा’सँगै अन्य फिल्महरूको पनि रिपोर्ट सार्वजनिक गरेको छ, तर व्यापारिक दौडमा ‘आबाट आमा’ अग्रस्थानमा देखिएको छ ।


