पर्दाका ‘हिट’ जोडी अब वास्तविक जीवनमै जोडिँदै, विजय र रश्मिकाले सामाजिक सञ्जालमार्फत गरे विवाहको पुष्टि
काठमाडौं । दक्षिण भारतीय चलचित्र क्षेत्र साउथ सिनेमाका सबैभन्दा चर्चित र प्रशंसित जोडी विजय देवरकोन्डा र रश्मिका मन्डानाले आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक बन्धनमा परिणत गर्ने घोषणा गरेका छन् ।
लामो समयदेखि मिडिया र फ्यानहरूबीच चलिरहेको विभिन्न अड्कलबाजी र कौतूहललाई चिर्दै यो जोडीले आधिकारिक रूपमा आफ्नो विवाहको पुष्टि गरेको हो ।
फ्यानहरूले यो जोडीलाई माया गरेर ‘विरोष’ (विजय + रश्मिका) उपनाम दिएका थिए । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक सुन्दर ‘नोट’ शेयर गर्दै उनीहरूले फ्यानहरूले दिएको सोही नामलाई आफ्नो नयाँ जीवनको सुरुवातको आधार बनाएका छन् ।
उनीहरूले लेखेका छन्, “तपाईंहरूले हामीलाई ‘विरोष’ भन्नुभयो, र अब हामी सधैँका लागि ‘विरोष’ हुँदैछौँ । अहिलेसम्म तपाईंहरूले दिनुभएको माया र साथ नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो ।”
भारतीय सञ्चारमाध्यमहरूका अनुसा, यो विवाह आगामी फेब्रुअरी २६ मा भारतको राजस्थानस्थित पर्यटकीय नगरी उदयपुरमा हुनेछ । उदयपुरका ऐतिहासिक र भव्य महलहरूमध्ये एकमा निजी समारोहका बीच उनीहरूले लगनगाँठो कस्नेछन् ।
विवाह समारोहलाई निकै गोप्य र विशेष बनाउन खोजिएको छ, जहाँ परिवारका सदस्यहरू र निकै निकट रहेका साथीभाइहरूको मात्र उपस्थिति रहने बताइएको छ । सुरक्षा र गोपनीयताका लागि समारोह स्थलमा विशेष प्रबन्ध मिलाइएको दाबी गरिएको छ ।
विजय र रश्मिकाको जोडीलाई दर्शकहरूले पहिलोपटक सन् २०१८ को ब्लकबस्टर फिल्म ‘गीता गोविन्दम’ मा सँगै देखेका थिए । उक्त फिल्ममा उनीहरूको केमेस्ट्री यति मन पराइयो कि त्यसको एक वर्षपछि नै सन् २०१९ मा उनीहरू पुनः ‘डियर कमरेड’ मा सँगै देखिए ।
यी दुई फिल्मको सफलतासँगै उनीहरू वास्तविक जीवनमा पनि नजिकिएका थिए । विभिन्न समयमा उनीहरू सँगै छुट्टी मनाउन गएका तस्बिरहरू सार्वजनिक भए पनि उनीहरूले आफ्नो सम्बन्धलाई ‘नजिकको मित्रता’ मात्र भन्दै आएका थिए । तर, अन्ततः यो मित्रता अब दाम्पत्य जीवनमा बदलिने भएको छ ।
विवाहको आधिकारिक पुष्टि भएसँगै सामाजिक सञ्जालमा ‘बधाई’ को ओइरो लागेको छ । ट्विटर र इन्स्टाग्राममा साउथका अन्य चर्चित कलाकारहरूले पनि यो जोडीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् ।
नेपालमा पनि दक्षिण भारतीय फिल्मका ठूलो संख्यामा फ्यानहरू रहेका कारण यो खबरले नेपाली फ्यानहरूमाझ पनि उत्साह पैदा गरेको छ ।


