चुनावको चटारो भन्दै हलबाट उतारिएका तीन चलचित्रको दयनीय व्यापार, १४ लाख ३२ हजार
काठमाडौं । शिवरात्रीको अवसर पारेर फागुन १ गतेदेखि प्रदर्शनमा आएका चलचित्रहरू ‘बिगुल’, ‘श्री बुकुरो’ र ‘शिवांश’का निर्माताहरूले आसन्न निर्वाचनको लहरका कारण दर्शकको ध्यान पूर्णतः राजनीतिमा केन्द्रित भएको भन्दै प्रदर्शन स्थगित गरेका थिए ।
हुन त, पछिल्लो समय चलचित्र नचलेपछि विभिन्न बहानामा रिलिज रोक्ने ट्रेन्ड नै बनेको छ । यी तीनवटै चलचित्रका धेरै शो गुमेपछि निर्माताले ‘फ्लप’को ट्यागबाट जोगिन चौथो दिन नै रिलिज स्थगित गरेका थिए ।
हलबाट उतारिएका यी तीनवटै सिनेमाको चलचित्र विकास बोर्डले बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको छ । निर्माताहरूले चुनावलाई मुख्य कारण देखाए पनि चलचित्रको व्यापारिक अवस्था अत्यन्तै दयनीय देखिएको छ । जसले ‘फ्लप’को ट्यागबाट जोगिन खोजिएको हो भन्ने शङ्कालाई पुष्टि गरेको छ ।
सार्वजनिक बक्सअफिस रिपोर्ट अनुसार यी तीनै चलचित्रले हलमा रहँदा १० लाख रुपैयाँको आँकडा समेत पार गर्न सकेनन् ।
जोखिम मोल्नुभन्दा चुनावपछि अनुकूल समयमा पुनः प्रदर्शन गर्ने भन्दै निर्माताहरूले ‘ब्याक’ हट्ने निर्णय गरे पनि बोर्डको तथ्याङ्कले भने हलमा दर्शकको उपस्थिति शून्यप्रायः रहेको देखाउँछ ।
चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस प्रणाली (सिनेपा) बाट प्राप्त तथ्याङ्क अनुसार चलचित्र ‘बिगुल’ले हलबाट बाहिरिँदासम्म जम्मा ८ लाख ९७ हजार ४ सय १० मात्र आम्दानी गरेको छ । यो चलचित्र हेर्न देशभरका हलमा जम्मा २ हजार ६ सय ९ जना दर्शक पुगेको तथ्याङ्कले देखाउँछ ।
२. श्री बुकुरो
फागुन १ मै प्रदर्शनमा आएको अर्को चलचित्र ‘श्री बुकुरो’को अवस्था अझै कमजोर छ । यसले जम्मा २ लाख ७२ हजार ९ सय ३० मात्रै कमाउन सक्यो । यसका लागि जम्मा ८०५ जना दर्शकले मात्र टिकट काटेका थिए ।
अर्को ‘शिवांश’ को व्यापार सबैभन्दा नाजुक देखिन्छ । यसले कुल २ लाख ६१ हजार ७ सय ५० मात्र संकलन गरेको छ भने दर्शक संख्या जम्मा ७८७ रहेको छ ।
यी तीनै चलचित्रको कुल आम्दानी जोड्दा पनि १४ लाख ३२ हजार रुपैयाँ मात्र हुन्छ, जुन एउटा चलचित्रको सामान्य पब्लिसिटी खर्च बराबर पनि होइन ।
चुनावको बहाना बनाएर हलबाट चलचित्र उतार्नु निर्माताहरूको ‘फेस सेभिङ’ (इज्जत जोगाउने) प्रयास मात्र हो । व्यापारिक रूपमा पूर्णतः असफल (डिजास्टर) भएपछि हलबाट स्वतः उत्रिनु पर्ने अवस्थालाई निर्माताहरूले ‘रणनीतिक पलायन’को नाम दिएका हुन् ।
चुनाव सकिएपछि यी चलचित्र पुनः प्रदर्शन हुने भनिए पनि सुरुवातमै यति कमजोर व्यापार गरेका चलचित्रले दोस्रो पटकमा दर्शकलाई आकर्षित गर्छन् या गर्दैनन् भन्नेमा ठुलो संशय छ ।


