निर्मम समीक्षा गर्दै ‘कुमारी’ निर्माता महेन्द्र अधिकारी

काठमाडौं । चलचित्र ‘कुमारी’ करिब–करिब हलबाट बाहिरिएको छ । अब एकाध हलमा मात्रै प्रदर्शनमा छ । चार करोड लगानीमा बनेको चलचित्रले ६३ लाख २४ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

यो चलचित्रले एक करोडभन्दा माथि पब्लिसिटीमा मात्रै खर्च गरेको छ । यो नेपाली चलचित्र उद्योगमा हालसम्मकै सबैभन्दा महंगो पब्लिसिटी हो ।

चलचित्र हेर्ने अधिकांश दर्शकले राम्रो भने पनि अपेक्षा गरेजस्तो व्यापार गर्न सकेन । एक करोड पब्लिसिटीमा मात्रै खर्चिएको यो चलचित्रले पब्लिसिटी खर्च जति पनि ग्रसकलेक्सन गर्न सकेन ।

निर्माता महेन्द्र अधिकारीले ठूलो जोखिम मोलेर मुख्य भूमिकामा नयाँ कलाकार लिएका थिए । यसका लागि उनी प्रशंसाका हकदार हुन् । प्रतिभा भएकाल कलाकारले अवसर पाउनुपर्ने उनले बताएका छन् ।

उनले यसअघि चलचित्र ‘प्रकाश’ निर्माण गरेका थिए, उक्त चलचित्रले राम्रो तारिफ बटुलेको थियो । तर, तुलनात्मक रुपमा ‘कुमारी’ ‘प्रकाश’भन्दा केही कमजोर देखियो ।

चलचित्र किन चलेन ? यसको मुख्य कारण के हो ? के कमजोरी भयो जसका कारण यो चलचित्र चलेन ? यसबारे निर्माता अधिकारीले निर्मम समीक्षा गरेर अगाडि बढ्ने बताएका छन् । यसले उनलाई परिपक्व निर्माताको रुपमा देखाएको छ ।

“चलचित्र निर्माण गरेपछि अन्य व्यवसायजस्तै यसबाट पनि नाफा कमाउने उद्देश्य हुन्छ,” उनी भन्छन्, “तर, सधैँ सोचेजस्तो नतिजा नआउने यथार्थलाई पनि हामीले स्वीकार्नुपर्छ ।”

तर, नाफा के कारणले हुन सकेन यसको कारक तत्व भने पत्ता लगाएर अगाडि बढ्नुपर्नेमा उनको जोड छ । कारण के पहिचान गरेर त्यसलाई समाधान गर्दै जानुपर्ने उनी बताउँछन् ।

“तर, समस्यालाई हलुका रूपमा लियो भने यसपछिका अरू निर्माताहरूलाई पनि लगानी गर्न सोच्न बाध्य बनाउँछ,” महेन्द्र भन्छन् ।

आफू अब चलचित्र निर्माणबाट टाढा रहने भन्ने नहुने बताउँछन् । समीक्षासहित पुनः चलचित्र निर्माणमा सक्रिय रहने उनी बताउँछन् । उनी थप संवेदनशील भएर अगाडि बढ्ने सोचमा छन् ।

बजारले उनलाई आँटिला निर्माताको उपमा दिएको छ । तर, उनी यसलाई ‘आँट’ भन्दा पनि आफ्नो पेसाप्रतिको इमानदारिता र जिम्मेवारी ठान्छन् । “चलचित्र निर्माण केवल लगानी मात्र नभएर यो रहर र जिम्मेवारी पनि हो,” उनी भन्छन्, “दर्शकलाई गुणस्तरीय सामग्री दिनु हाम्रो दायित्व हो ।”

‘कुमारी’को व्यावसायिक असफलताले उनलाई गलाएको छैन, बरु अझ जिम्मेवार र थप परिपक्व बनाएको छ । त्यसैले अझै जिम्मेवार र सतर्क भएर निर्माणमा होमिने सोचमा छन् उनी ।