रणवीर सिंह र फरहान अख्तरबीच विवाद उत्कर्षमा, मुद्दा अब अदालत जाने

मुम्बई । बलिउडका सुपरस्टार रणवीर सिंह र अर्का अभिनेता तथा निर्माता फरहान अख्तरबीचको फिल्म ‘डन ३’ लाई लिएर विवाद उत्कर्षमा आएको छ ।

रणवीरले फिल्म ‘डन ३’ बाट हात झिकेपछि सुरु भएको यो विवाद अहिले ४० करोडको क्षतिपूर्ति र कानुनी लडाइँसम्म पुगेको छ ।

हालै आफ्नो ब्लकबस्टर फिल्म ‘धुरन्धर’ को सफलतापछि रणवीर सिंहले ‘डन ३’ नगर्ने निर्णय गरेका थिए । रणवीरको यो बहिर्गमनको निर्णयले फिल्मको निर्माण पक्ष ‘एक्सेल इन्टरटेनमेन्ट’ लाई ठूलो झट्का लागेको छ ।

निर्माता फरहान अख्तर र रितेश सिधवानीले फिल्मको प्री-प्रोडक्सन, स्क्रिप्टिङ र अन्य प्राविधिक काममा ठूलो रकम खर्च भइसकेको दाबी गर्दै रणवीरसँग ४० करोड रुपैयाँ क्षतिपूर्ति मागेका छन् ।

तर, रणवीर सिंहले भने आफूले कुनै पनि हालतमा उक्त रकम नतिर्ने स्पष्ट पारेका छन् । उनले आफ्नो तर्फबाट भएका इमेल र ह्वाट्सएप म्यासेजहरूलाई प्रमाणको रूपमा प्रस्तुत गर्दै आफ्नो अडान कायम राखेका छन् ।

यस विवादलाई आपसी सहमतिमा सुल्झाउन बलिउडका दिग्गज निर्माताहरूले प्रयास नगरेका होइनन् । स्रोतका अनुसार आमिर खानको मुम्बईस्थित निवासमा छलफलमा बसेको थियो । उक्त बैठकमा करण जोहर, साजिद नाडियाडवाला, एकता कपूर, जोया अख्तर र पुनित गोयन्का जस्ता प्रभावशाली निर्माताहरू सहभागी थिए ।

दुई घण्टासम्म चलेको उक्त छलफलमा दुवै पक्षले आ-आफ्नो अडान प्रस्तुत गरेका थिए । एक्सेल इन्टरटेनमेन्टले आफ्नो आर्थिक नोक्सानीको कुरा उठाएको थियो भने रणवीरले फिल्म ढिलाइ हुनुमा आफ्नो दोष नरहेको तर्क गरेका थिए । तर, दिग्गज निर्माताहरूको उपस्थितिमा भएको उक्त बैठकले पनि कुनै ठोस समाधान निकाल्न सकेन ।

विवाद झन् उग्र बन्दै गएपछि ‘प्रोड्युसर्स गिल्ड अफ इन्डिया’ ले यसमा चासो देखाएको छ । गिल्डका सदस्यहरूले दुवै पक्षलाई सम्झाउने प्रयास गरे पनि कोही पनि लचिलो नभएपछि संस्थाले अब कानुनी समधान लिन सुझाव दिएको छ ।

गिल्डका एक सदस्यले भने, “हामीले मध्यस्थताको प्रयास गर्यौं, तर दुवै पक्ष आफ्नो अडानमा अडिग छन् । यस्तो अवस्थामा गिल्डले मात्र समस्या समाधान गर्न सक्दैन । हामीले उनीहरूलाई आ-आफ्नो कानुनी टोलीमार्फत अदालत वा कानुनी प्रक्रियाबाट मुद्दा टुङ्ग्याउन सल्लाह दिएका छौं ।”

विवादका बीच रणवीर सिंह भने आफ्नो आगामी महत्वाकांक्षी फिल्म ‘धुरन्धर २’ को तयारीमा व्यस्त छन् । आदित्य धरको निर्देशनमा बनिरहेको यो फिल्म १९ मार्च २०२६ मा सिनेमाघरहरूमा रिलिज हुने तय भएको छ । ‘धुरन्धर’ को पहिलो भागले बक्स अफिसमा ऐतिहासिक रेकर्ड राखेका कारण पनि रणवीर अहिले ‘डन ३’ भन्दा यो प्रोजेक्टलाई बढी प्राथमिकता दिइरहेका देखिन्छन् ।

शाहरुख खानको उत्तराधिकारीका रूपमा रणवीर सिंहलाई ‘डन ३’ मा हेर्न चाहेका फ्यानहरू अहिले निराश भएका छन् । रणवीरले फिल्म छोडेपछि र कानुनी लडाइँ सुरु भएपछि अब यो फिल्मको भविष्य के हुने भन्नेमा अन्योल छाएको छ । के फरहान अख्तरले नयाँ ‘डन’ को खोजी गर्नेछन् वा यो प्रोजेक्ट केही समयका लागि स्थगित हुनेछ? यो भने हेर्न बाँकी नै छ ।