‘लालिमा’ पात्र निर्वाह गर्न रोश्नीले भेटिन् १० यौनकर्मी

काठमाडौं । फागुन २९ बाट प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’मा नायिका रोश्नी कार्की शीर्ष भूमिकामा निर्वाह गरेकी छन् । चलचित्रमा उनी यौनकर्मीको चरित्र ‘लालिमा’ बनेकी छन् ।

‘लालिमा’ पात्र निर्माणका लागि रोश्नीले आफूले १० यौनकर्मी भेटेको बताएकी छन् ।

थिएटर पृष्ठभूमिकी रोश्नीले पहिलोपटक यौनकर्मीको भूमिका निर्वाह गरेकी हुन् ।

तर, पात्र निर्माणका लागि उनलाई यौनकर्मी नै भेट्न आवश्यक थियो ।

उनी भन्छन्, “‘यौनकर्मी मैले चिनेको छैन । आफूलाई यौनकर्मी बताउने को नै हुन्छ ? उनीहरुको पेसा नै थाहा हुँदैन । मलाई रिफ्रेन्सक लागि उनीहरुसँग भेट्नु थियो ।”

यौनकर्मीको मानसिकता बुझ्नका लागि उनीहरुसँगको भेट आफूलाई उपयुक्त लागेको उनको तर्क छ ।

रोश्नी भन्छिन्, “फिल्म यौनकर्मीको मानसिकताबारे बढी केन्द्रित छ । नेपाली परिवेशका यौनकर्मीको मानसिकता के छ ? भन्नेबारे बुझ्न त मैले उहाँहरुसँग नै भेट्नु आवश्यक थियो नि ।”

निर्माण टिमको सम्पर्कमा रहेका १० यौनकर्मीसँग कुराकानी भएपछि निर्माणमा सहयोग भएको उनले खुलाइन् ।

उनी भन्छिन्, “यौनकर्मीहरुसँग मैले कुराकानी गरेँ । उहाँहरु आफ्नो समस्या पीडा र मनोदशा सुनाउनुभयो । पात्र निर्माणमा मलाई सहयोग भयो ।”