नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरुवात, ऐतिहासिक क्यामेरा र पोस्टर हस्तानतरण
काठमाडौं । नेपाली चलचित्रको इतिहास, कला र प्रविधिलाई भावी पुस्तासम्म सुरक्षित गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले नेपाली चलचित्र संग्रहालयको औपचारिक सुरुवात गरेको छ ।
मंगलबार बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतको प्रमुख आतिथ्यतामा संग्रहालय उद्घाटन गरिएको हो ।
कार्यक्रममा चलचित्रकर्मी तथा विभिन्न संस्थाहरूले विगतका ऐतिहासिक क्यामेरा, क्यासेट, टेप, पोस्टर, आर्टवर्क, स्क्रिप्ट तथा संग्रहयोग्य कागजातहरू हस्तान्तरण गरेका थिए । सामाग्री उपलब्ध गराउने व्यक्तित्व तथा संस्थाहरूलाई कार्यक्रममा सम्मानसमेत गरिएको थियो ।
ऐतिहासिक सामग्री हस्तान्तरण
संग्रहालयलाई समृद्ध बनाउन विभिन्न क्षेत्रका चलचित्रकर्मी तथा संस्थाहरूले महत्वपूर्ण योगदान दिएका छन् । सिने फोकस प्रा.लि. (रजत बुढाथोकी)ले रेड क्यामेरा हस्तान्तरण गरेका छन् ।
क्लासिक सिने युनिभर्स प्रा.लि. (दिनेश महरा)ले सोनी इएक्स–३ क्यामेरा उपलब्ध गराएका छन् ।
वरिष्ठ चलचित्र सम्पादक मानबहादुर थापाले सन् १९८० को पानासोनिक एफ–१० क्यामेरा, सोनी कलर मोनिटर (२००१), नेशनल पानासोनिक ५४३ क्यासेट टेप, साउन्ड÷भिडियो उपकरण तथा अडियो मिक्सर उपलब्ध गराएका छन् ।
उत्तम थापा, प्रबन्ध निर्देशक, म्युजिक नेपाल प्रा.लि.ले १५२ वटा नेपाली चलचित्रका पोस्टर तथा आर्टवर्क प्रदान गरेका छन् ।
रुपेन्द्र खड्गी, ओ.एस.आर प्रा.लि.ले चलचित्र आर्टवर्कहरू उपलब्ध गराएका छन् ।
कान्तिपुर रेडियोले ३४४ वटा चलचित्रका क्यासेट तथा अडियो सीडी हस्तान्तरण गरेको छ । दर्शनवीर शाक्य, सम्पादक, पेज थ्री पत्रिकाले नेपाल भाषाका ८० चलचित्रका पोस्टर उपलब्ध गराएका छन् ।
जनक तामाङ, प्रबन्ध निर्देशक, हाइलाइट्स नेपाल प्रालिले २०२ नेपाली चलचित्रका आर्टवर्क प्रदान गरेका छन् ।
सुन्दरलाल श्रेष्ठ, आईडियल डिजाइनर्सले १४६ नेपाली चलचित्रका पोस्टर उपलब्ध गराएका छन् ।
वरिष्ठ चलचित्रकर्मी मन्दिल श्रेष्ठ तथा गौरीशंकर धुँजु (ए वन जन सेन्टर)ले पुरानो ऐतिहासिक क्यामेरा तथा ट्राइपोड प्रदान गरेका छन् ।
लेखक तथा चलचित्रकर्मी नरेन्द्रबहादुर श्रेष्ठले प्रथम चलचित्र अवार्डका संग्रहयोग्य कागजात उपलब्ध गराउने भएका छन् ।
वरिष्ठ छायांकार पुरुषोत्तम प्रधानले आफू सम्वद्ध ६३ नेपाली चलचित्रका स्क्रिप्ट उपलब्ध गराएका छन् ।
नेपाली चलचित्रप्रेमी दर्शक खुमराज पौडेल (प्रतिनिधि प्रिया लामिछाने)ले ७०४ वटा नेपाली चलचित्रका पोस्टर हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले स्वदेशी चलचित्र संग्रहालय स्थापना आफ्नो दीर्घकालीन सपना रहेको उल्लेख गर्दै यसलाई नेपाली चलचित्रको आत्मा जोगाउने अभियानका रूपमा व्याख्या गरे ।
“नेपाली चलचित्रको इतिहास केवल सम्झनामा सीमित नहोस्, त्यसलाई पुस्तान्तरण गर्न सकिने गरी संस्थागत रूपमा संरक्षण गर्नुपर्छ भन्ने सोचका साथ हामीले यो पहल गरेका हौँ,” अध्यक्ष डिसीले भने । उनले विगतका संघर्ष, प्रविधिगत विकास र सिर्जनात्मक यात्रालाई एकै थलोमा अभिलेखीकरण गर्नु समयको माग भएको बताए ।
उनले संग्रहालयलाई आगामी दिनमा डिजिटल अभिलेखीकरणसँग जोड्दै अनुसन्धानकर्ता, विद्यार्थी तथा चलचित्रप्रेमीका लागि अध्ययन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको जानकारी दिए । “यो सुरुवात मात्र हो । हामी यसलाई राष्ट्रिय गौरवको परियोजनाका रूपमा विस्तार गर्नेछौँ,” उनले भने ।



