‘कमेडी नाइट’मा महेश बस्नेतको इन्ट्रीपछि बबाल, विशाल भण्डारी दिए कानुनी उपचारको चेतावनी
काठमाडौं । टेलिभिजन रियालिटी शो ‘कमेडी नाइट विथ च्याम्पियन्स’ को पछिल्लो शृङ्खला (एपिसोड) विवादको घेरामा तानिएको छ । नेकपा एमालेका सचिव महेश बस्नेत अतिथिको रूपमा देखिएपछि सामाजिक सञ्जालमा कार्यक्रम बहिष्कारको लहर चलेको हो ।
बुधबार प्रसारण भएको ४७ औं एपिसोडको ट्रेलर सार्वजनिक भएसँगै सुरु भएको यो कार्यक्रमलाई लिएर अहिले सामाजिक सञ्जालमा विवाद चर्किएको छ ।
उक्त्त एपिसोडमा नेता बस्नेत अतिथिको आसनमा देखाइएको छ भने कार्यक्रमका कलाकारहरूले प्रधमनमन्त्री सुशीला कार्की र पछिल्लो समय ‘जेन–जी’ समूहका अभियन्ताका रूपमा चिनिएका सुदन गुरुङको क्यारिकेचर (व्यङ्ग्य) गरेका छन् । कार्यक्रममा रास्वपा उम्मेदवार सुधन गुरुङको क्यारिकेचर कलाकार प्रभात लामाले गरेका थिए ।
पुराना राजनीतिक दलहरूको विकल्प खोज्नुपर्छ भन्ने मान्यता राख्ने र नयाँ शक्तिप्रति झुकाव राख्ने युवा समूह (जेन–जी) ले बस्नेतलाई अतिथि बनाइएको र आफ्ना अभियन्ताको मजाक उडाइएको भन्दै आपत्ति जनाएका हुन् ।
सामाजिक सञ्जालमा धेरैले यो कार्यक्रम ‘एमालेबाट परिचालित’ भएको आरोप लगाउँदै ‘बहिष्कार’को अभियान नै छेडेका छन् ।
कार्यक्रमका सञ्चालक एवं निर्देशक विशाल भण्डारीले आफू र आफ्नो टिममाथि योजनाबद्ध रूपमा ‘साइबर आक्रमण’ भइरहेको बताएका छन् ।
केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवास पुगेका कारण भण्डारीलाई सामाजिक सञ्जालमा ‘एमालेको झोले’ भन्दै टिप्पणी गरिँदै आएको थियो । बस्नेतलाई अतिथि बोलाएपछि यो आलोचनाले उग्र रूप लिएको हो ।
आफूमाथि लागेको आरोपको खण्डन गर्दै भण्डारीले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । उनले आफू कुनै दल विशेषको नभई कलाकारिताको पक्षमा रहेको दाबी गरेका छन् ।
आफूलाई एउटा दलको बिल्ला भिराउन खोजिएकोमा असन्तुष्टि पोख्दै भण्डारीले विगतका अतिथिहरूको सूची सार्वजनिक गरेका छन् ।
मंगलबार फेसबुकमार्फत प्रतिक्रिया दिँदै भण्डारीले लेखेका छन्, “हामीले यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई तीन पटक अतिथि बनायौं । राप्रपा, कांग्रेस र अन्य दलका नेताहरूलाई पनि बोलाएका छौं । त्यतिबेला कसैले प्रश्न उठाएन, तर अहिले एमालेका नेता आउँदा किन यति धेरै तनाव ? ।”
“के नयाँ दलका नेता वा अभियन्ताहरू आलोचनाभन्दा माथि छन् ? उनले भनेका छन्, “हामीले यस्तै समाज बनाउन खोजेको हो र, जहाँ कुनै निश्चित दलको व्यक्ति मात्र कार्यक्रममा आउनुपर्ने ? के पुरानालाई मात्रै उडाउनु पर्ने र नयाँलाई चाहिँ देवत्वकरण नै गर्नुपर्ने हो ?,” भण्डारीले प्रश्न गरेका छन् ।
विवाद र आलोचना मात्र नभई आफू र आफ्नो टिमलाई धाक–धम्की समेत आउन थालेको भण्डारीले उल्लेख गरेका छन् । उनले स्वस्थ आलोचना स्वीकार्य हुने तर सामाजिक सञ्जालमा गालीगलौज र धम्की दिने कार्य नरोकिए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन् ।
“हाम्रो टिम परिवर्तनकै पक्षधर हो, तर विचारको नाममा कसैलाई निषेध गर्ने प्रवृत्ति गलत छ,” उनले स्पष्ट पारेका छन् । साथै सबै दलका नेता तथा कार्यकर्तालाई कार्यक्रम सञ्चालनमा अवरोध नगर्न आग्रह गरेका छन् ।
यस्तो भण्डारीको स्टाटस
हाम्रो विचार र समर्थनलाई साइडमा राखेर निश्पक्ष रुपमा ‘कमेडी नाइट विथ च्याम्पियन्स’ कार्यक्रम चलाउने क्रममा रास्वपाका नेता ३ पटक, राप्रपाका १ पटक, कांग्रेसको १ पटक, कलमका १ पटक र एमालेको १ पटक बोलाएका थियौं ।
हामीलाई हरेक पटक एउटा दलको बोलाउँदा अर्को पक्षबाट सामाजिक संजालमा आक्रमण हुँदै नै आइरहेको हो । यो कुनै नौलो कुरा हैन । तर भ्रष्टाचार, नातावाद व्यक्तिवाद र दलको सिण्डिकेटको विरोध गर्दै सडक आन्दोलन गरेका जेनजी समूहका भाइ बैनिले महेस बस्नेत बोलाएको आज आउँदै गरेको एपिसोडको ट्रेलर हेरेकै भरमा जुन सत्तो -सराप गरिरहेका छन् ।
के हामीले यस्तै समाज र सत्ता बनाउन खोजेको हो ? जहाँ कुनै दल विशेषको व्यक्ति मात्र कार्यक्रमले गेष्ट बोलाउनु पर्ने ? पुरानालाई मात्र उडाउनुपर्ने र नयाँलाई देवत्वकरणनै गरिदिनुपर्ने ? पुरानाको मात्र मिमिक्री गर्नु पर्ने ? नयाँको गर्नै नहुने ? सायद हैन ! हामीले प्रश्न गर्न बोल्न र हाँसि मजाक गर्न पाउने समाजको परिकल्पना गर्दै परिवर्तन खोजेको हो ।
म फेरि पनि भन्छु, हामी परिवर्तनकै पक्षधर हौ । तर विचारलाइ साइडमा राखेर कार्यक्रमलाइ प्रजातान्त्रिक स्वरुपमा उभाएर निश्पक्ष रुपमा संचालन गर्न रोक्ने, छेक्ने र धम्काउने क्रियाकलाप नगर्न सबै दलका नेता कार्यकर्ता लाई अनुरोध गर्न चाहन्छौ । तर, यो धाक धम्कीको क्रम नरोकिए कानुनी उपचार खोज्न हामी बाध्य हुने चेतावनी पनि दिन चाहन्छौ । धन्यवाद ।’



