‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक

काठमाडौं । प्रेमकथामा आधारित नयाँ नेपाली चलचित्र ‘प्रेम गीता’को औपचारिक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण टिमले बिहीबार चलचित्रको कथावस्तु झल्किने गरिको पोस्टर रिलिज गरेको हो ।

सार्वजनिक पोस्टरमा मुख्य जोडी जाहान्वी बस्नेत र साजिद खानलाई हरियाली पहाडी परिवेशमा रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ ।

यस चलचित्रमार्फत साजिद खानलाई नयाँ अनुहारका रूपमा प्रस्तुत भएका छन् । उनका अलवा यो चलचित्रमा जाहन्वी बस्नेत, सुशील पोखरेल, अर्जुन गुरुङ, मनिल तामाङ, आइशा पौडेल, दिप्सन लिम्बु, मन्शी शर्मा, मौसम खड्का, रियाशा सापकोटा र श्याम मगरलगायत कलाकारहरूको अभिनय रहेको जनाइएको छ ।

अर्नव बस्नेतको प्रस्तुति रहेको यस चलचित्रको कथा सिताराम ढुंगेलको हो भने पटकथा तथा संवाद मौनता श्रेष्ठले तयार पारेका हुन् । फिल्मका गीतमा संगीत दिप्सन लिम्बूले गरेका छन् । डीओपी रामेश्वर हुमागाईं, नृत्य निर्देशन सुरेश पाण्डेको छ । सम्पादन बन्दे प्रसादले गरेका छन् ।

रङ संयोजन प्रबिन ढकाल तथा मिक्सिङ मुकेश शाहको रहेको निर्माण पक्षले जनाएको छ । यस फिल्मको सहायक निर्देशकका रुपमा सागर बोहोरा रहेका छन् ।

निर्देशक बस्नेतका अनुसार चलचित्रले युवापुस्ताको प्रेम, भावना र संघर्षलाई केन्द्रमा राखेको छ । प्रदर्शन मिति भने छिट्टै सार्वजनिक गरिने बताइएको छ ।