जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा कुन–कुन चलचित्रले जिते अवार्ड

जनकपुरधाम । मिथिलाको ऐतिहासिक तथा धार्मिक नगरी जनकपुरधाममा दोस्रो जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न भएको छ । ‘स्टोरिज् बियोन्ड बोर्डस : ह्वेय कल्चर मिट्स सिनेमा’ भन्ने नारासहित फागुन ८ गतेदेखि सुरु भएको महोत्सव फागुन ११ गते समापन भएको हो ।

संवाद फाउन्डेसनद्वारा आयोजित चारदिने महोत्सवमा ६५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र प्रदर्शन गरिएका थिए ।

महोत्सवको समापन समारोहमा विभिन्न विधाका उत्कृष्ट चलचित्रलाई पुरस्कृत तथा सम्मान गरिएको छ । अन्तर्राष्ट्रिय प्यानोरामा अन्तर्गत डेभिड कासाल्स–रोमाको ‘कप्स’ उत्कृष्ट लघु कथानक चलचित्र घोषित भएको छ । शेख अल मामुनको ‘ड्रेन्ड बाई ड्रिम्स’ उत्कृष्ट फिचर कथानक चलचित्र बनेको छ ।

रोस्ताम नजरिको ‘साइद क्यापिलो’ उत्कृष्ट लघु वृत्तचित्र, रिंकु शर्माको ‘हमार रामलिला’ उत्कृष्ट फिचर वृत्तचित्र र बार्तोज जार्जिकीको ‘फियररस्टार्च’ उत्कृष्ट एनिमेसन अवार्डबाट सम्मानित भएका छन् ।

विद्यार्थी प्यानोरामा ‘भ्चाइसेस् अफ टुमोरो’ अन्तर्गत काथ्रिन एलिस कोभालेन्कोको ‘बिल्ट अन होप’ उत्कृष्ट वृत्तचित्र र डानिलो स्तानिमिरोभिचको ‘क्याट्स’ उत्कृष्ट कथानक चलचित्र घोषित भए ।

क्षेत्रीय प्यानोरामामा विप्लव विश्वासको ‘सकार बकार ः रिभर रेड’ उत्कृष्ट लघु चलचित्र बनेको छ । नेपाली प्यानोरामामा निर्मल पौडेलको ‘निलो आकाश’ उत्कृष्ट लघु कथानक तथा श्रीजन राज पाण्डेको ‘मित्क्पा’ उत्कृष्ट वृत्तचित्र घोषित भएका छन् ।

दोस्रो संस्करणको महोत्सवका संयोजक तथा फाउन्डेसनका अध्यक्ष कुमार भास्करले जनकपुरको ऐतिहासिक, धार्मिक र सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उल्लेख गरे ।

उनका अनुसार यसले जनकपुरलाई सांस्कृतिक तथा ऐतिहासिक सहरका रूपमा विश्व समुदायसमक्ष चिनाउन महत्वपूर्ण भूमिका खेलेको छ । उनले विदेशी चलचित्रकर्मीहरूलाई जनकपुरमा चलचित्र छायांकन गर्न निम्तो दिँदै यहाँको मौलिकता र धार्मिक महत्वलाई विश्व बजारमा पुर्‍याउन आग्रह गरे ।

भास्करले राष्ट्रिय चलचित्र निर्माताहरूलाई पनि ऐतिहासिक स्थल र सांस्कृतिक सम्पदामा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न आह्वान गर्दै सिनेमा नयाँ पुस्तालाई इतिहाससँग जोड्ने प्रभावकारी माध्यम भएको बताए ।

उनले संघ, प्रदेश र स्थानीय तहका सरकारले जनकपुरमा चलचित्र पर्यटन प्रवर्द्धनका लागि आवश्यक लगानी र पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

महोत्सव अवधिभर चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम, अन्तरक्रिया र चलचित्र पर्यटनसम्बन्धी छलफल सत्रहरू सञ्चालन गरिएको थियो ।