‘जेरी अन टप’ भारतमा प्रदर्शन हुँदै, भारतका चेन हलले खुलाए अग्रिम बुकिङ
काठमाडौं । अभिनेता अनमोल केसीको चलचित्र ‘जेरी अन टप’ भारतमा प्रदर्शन हुने भएको छ । भारतमा रहेका सिनेमाप्रेमीहरू तथा नेपाली समुदाय तथा नेपाली भाषी दर्शकलाई लक्षित गर्दै यही शुक्रबारदेखि भारतका विभिन्न शहरहरूमा एकसाथ रिलिज हुन लागेको निर्माण पक्षले बताएको छ ।
दार्जिलिङ, सिक्किम, देहरादुन, दिल्ली, कालिङपोङ, सिलिगुरी र कोलकातासहित नेपाली भाषी दर्शकको उल्लेख्य बसोबास रहेका अन्य विभिन्न ठाउँमा वक्सअफिस रिलिज हुनेछ । चलचित्रका लागि भारतका विभिन्न सिनेमा चेनहरूले अग्रिम बुकिङ खुला गरिसकेका छन् ।
रिलिजको पूर्वसन्ध्यामा फेब्रुअरी २६ मा गान्तोकमा प्रिमियर शो आयोजना गरिएको छ । उक्त प्रिमियरमा अभिनेता अनमोल केसी, अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङसहित कलाकार सहभागी हुँदैछन् ।
कार्यक्रममा चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको विशेष प्रस्तुतिसहितको उपस्थिति रहने निर्माता सरोज न्यौपानेले बताए । चलचित्र युनिट यतिबेला सिक्किम पुगिसकेको छ ।
सगरमाथा आरोहणको साहसिक कथामा निर्माण भएको ‘जेरी अन टप’ ले प्रेम, सम्बन्ध र युवापुस्ताको भावनात्मक यात्रालाई केन्द्रमा राखेको छ । सुयोग गुरुङ चलचित्रका निर्देशक हुन् ।
अनमोलको करियरकै सर्वाधिक व्यापार गर्न सफल यो चलचित्र वर्ल्डवाइड १७ करोड माथिको कलेक्सन गरेको थियो ।
गत असोज अन्तिम साता प्रदर्शनमा आएको ‘जेरी अन टप’ ले नेपालमा १२ करोड रूपैयाँभन्दा बढी कमाएको थियो ।
चलचित्रमा अनमोलसँगै आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे, भुवन केसी, उषा खड्गी यो फिल्ममा प्रमुख अभिनयमा छन् ।



