नेपाली चलचित्र उद्योगको पहिलो ड्रेस म्यान को हो ?

काठमाडौं । नेपाली चलचित्र उद्योगमा उद्धव भट्टराईको नाममा पनि एउटा रेकर्ड छ, जुन कसैले पनि तोड्न सक्ने छैन । किनकी यो नेपाली चलचित्र उद्योगमा बनेको पहिलो रेकर्ड हो ।

उद्धव भट्टराई उर्फ जुंगे । अथवा उद्धव भट्टराईलाई उनको नाम भन्दा पनि धेरैले जुंगे भनेर चिन्थे । उनी नेपाली चलचित्र उद्योग कै पहिलो ड्रेस म्यान हुन् ।

उनले चलचित्र ‘सन्तान’मा पहिलोपटक ड्रेस म्यानको रुपमा काम गरेका थिए । यो चलचित्रलाई प्रकाश थापाले निर्देशन गरेका थिए ।

चलचित्र ‘सन्तान’ २०४४ साल मंसिर १४ गते प्रदर्शनमा आएको थियो । भट्टराईले पछि ‘सेतो बाघ’, ‘माया प्रिती’, ‘प्रेमपिण्ड’, ‘मुनामदन’ लगायत थुप्रै चलचित्रमा कला निर्देशन, भेषभुषा र कलाकारको भूमिकामा काम गरेका छन् । उनको पछिल्लो कष्ट्युम डिजाइन रहेको चलचित्र ‘मेरी मामु’ हो ।

उनको ०७९ भदौ १८ गते ६६ वर्षको उमेरमा निधन भएको थियो । उनको घर बैतडी थियो । बैतडीबाट उपचारका लागि काठमाडौं आउँदै गर्दा चितवनमा आफू सवार बसमै उनको मृत्यु भएको थियो ।

उनले नेपाली हास्य टेलिचलचित्र ‘जिरे खुर्सानी’सहित अन्य विभिन्न चलचित्रहरुमा समेत काम गरेका थिए । रेडियो नेपालमा उनले देउडा गीतसमेत गाएका थिए ।

‘सन्तान’ ओम प्रोडक्सन र शाही नेपाल चलचित्र ससंस्थानमार्फत बनेको थियो । यो चलचित्रमा भुवन केसी, अर्जुनजंग शाही, करिश्मा मानन्धर, गौरी मल्ल, शान्ति मास्के, हरिप्रसाद रिमाल, उज्जवल घिमिरे, वसुन्धरा भुसाल, गोपालराज मैनाली, कृष्टी मैनालीलगायत कलाकारको अभिनय रहेको थियो ।

यो चलचित्रबाट अभिनेत्री करिश्मा मानन्धर, गौरी मल्ल र अर्जुनजंग शाहीले चलचित्र करियर सुरु गरेका थिए ।

चलचित्रको कथा भगवान दाश श्रेष्ठको थियो भने पटकथा र संवाद निर्देशक प्रकाश थापाको थियो । चलचित्रमा मनोहरी सिंहको संगीत थियो । यो चलचित्रलाई सम्पादन अशोक नायकले गरेका थिए ।