प्रकाश सपूतको सफलता सकिँदैछ कि थपिँदैछ ?

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब एक साता पनि छैन । यही २१ गते निर्वाचन हुँदैछ ।

यो निर्वाचनमा उमेदवार बन्ने कलाकारको संख्या कम छैन । प्रकाश सपूत, सत्यकला राईदेखि रीमा विश्वकर्मासम्म उमेदवार छन् । तर, उनीहरू समानुपातिकतर्फबाट उमेदवार बनेका छन् । तुलनात्मक रूपमा सहज बाटो अपनाएका छन् । यसर्थ सहज कि प्रत्यक्षबाट चुनाव लड्नुभन्दा समानुपातिक धेरै हदसम्म सहज हुन्छ ।

प्रकाश र रीमा दुवै यतिबेला भोट माग्न व्यस्त छन् । चुनावी सभाहरूमा हिँडिरहेका छन् । सभामा रीमा सभाको होस्ट गरिरहेकी छन् भने प्रकाश गीत गाइरहेका छन् ।

फागुन २१ गते हुने मतदानले यी कलाकार सांसद हुने वा नहुने निर्धारण गर्नेछ । यी सबै रास्वपाको समानुपातिक सूचीमा छन् । रास्वपाको यो पटक जनतामा राम्रो प्रभाव देखिएको र तीनै जना कोटामा रहेकाले सांसद् बन्ने सम्भावना उच्च छ ।

राजनीतिको रङले छोएको छ, सिनेमाको रङले छोडेको छैन
प्रकाश सपूतलाई भने भ्याइनभ्याइ छ । एकातिर राजनीतिको रङले उनलाई छोएको छ, अर्कोतिर सिनेमाको रङले छोडेको छैन । बिहीबार मात्रै उनले चलचित्र ‘परालको आगो’को पोस्टर आफ्नो फेसबुकमा सेयर गरेका छन् । उनले ‘परालको आगो वैशाख ११’ लेख्दै पोस्टर सेयर गरेका छन् ।

यो चलचित्र वैशाख ११ गते सार्वजनिक प्रदर्शनमा आउनेछ । यो चलचित्र रिलिज हुँदा सम्भवत प्रकाश सांसद भइसकेका हुनेछन् । रास्वपाले राम्रो मत पायो भने उनी संघीय संसद् भवनमा सांसद बनेर प्रवेश गरिसकेका हुनेछन् । निर्वाचन आयोगले पनि वैशाख ११ गतेसम्म निर्वाचित भएको प्रमाणपत्र दिइसक्नेछ ।

यदि, भाग्य बलियो रहेछ भने प्रकाश ‘परालको आगो’ रिलिज हुँदासम्म सांसद भइसकेका हुनेछन् । र, उनी सांसद्को लोगो लगाएको कोट लगाएर चलचित्र हेर्न हल जानेछन् ।

हलमा सिनेमा हेर्न त जानेछन्, तर चलचित्रको प्रचारप्रसारमा चाहिँ हिँड्ने छन् कि होइन ? निर्माताले त प्रकाश पनि आफ्नो सिनेमाको प्रचारमा हिँडिदिउन् भन्ने चाहना राख्लान् । स्वभाविक पनि हो । करार पत्रमै चलचित्रको प्रचारमा हिँड्ने भनेर उल्लेख गरेकै हुन्छ । त्यसैले निर्माताले प्रचारको प्रस्ताव पनि गर्लान् ।

तर, संसाद नै भइसके भने चलचित्रको प्रचारमा हिँड्न उनले कति सहज महसुस गर्लान् ? यदि, असहज महसुस गरे पनि निर्माताले भने आफू घाटामा परेको महसुस गर्लान् ।

यस्तो अवस्थामा प्रकाशले अब कसरी चलचित्र तथा गीतसंगीत र राजनीतिलाई अगाडि बढाउनेछन् भन्ने संशयसहितको प्रश्न खडा भएको छ । रीमा त अभिनयबाट धेरै टाढिसकेकी छन् । सत्यकलाले पनि गाउन धेरै कम गरिसकेकी छन् । अफ्ठ्यारोमा भने प्रकाश नै पर्ने दखिन्छन् । प्रकाशलाई यता कि उता भन्ने दोधार हुनेछ ।

उनको राजनीतिमा देखेको सपना पूरा हुँदा चलचित्र र गायनमा कोरेको बाटोको यात्रा भने रोकिन्छ कि अगाडि बढ्छ ? भन्न त उनले सँगै अगाडि बढाउँछु भनेका छन् । राजनीतिमा सफलता प्राप्त नभए (सांसद नभए) गायन र चलचित्र यात्रा छँदैछ भनेका छन् ।

तर, राजनीतिको रंग लागिसकेपछि फेरि त्यसलाई मेटाएर गायन र चलचित्रमा पुरानै उचाइ दिन त्यति सहज नहोला । त्यसैले प्रकाश चुनावी मैदानमा रहेका बेला उनको सफलता सकिँदैछ कि थपिँदैछ भन्ने संशयसहितको प्रश्न भने जन्मिएको छ ।