उषा रजक भन्छिन्– दर्शकको कुरा सुनेरै नायिकाको अफर छोडेर आमाको भूमिका रोजेँ
काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा अभिनेत्रीहरू उमेर ढल्किँदै गएपछि पनि ‘आमा’ वा ‘दिदी’को भूमिकामा देखिन डराउने गर्छन् । कतिपयलाई त यस्ता भूमिका अफर गर्दा अपमान महसुस हुने गरेका उदाहरण पनि प्रशस्त छन् । तर, अभिनेत्री उषा रजकले भने यस स्थापित मान्यतालाई चुनौती दिएकी छिन् ।
आगामी फागुन २९ बाट प्रदर्शनमा आउने चलचित्र ‘लालिमा’ मा उषा मुख्य भूमिकामा होइन, बरु सहायक तर शक्तिशाली ‘आमा’को भूमिकामा देखिने भएकी छिन् । रोचक कुरा त के छ भने, उनलाई सुरुमा निर्देशकले चलचित्रको शीर्ष भूमिका ‘लालिमा’ नै अफर गरेका थिए । तर, उनले आफैँले सो भूमिका त्यागेर आमाको भूमिका रोजेको बताउँछिन् ।
किन रोजिन् आमाको भूमिका ?
बिहीबार चलचित्रको टिमले आयोजना गरेको पत्रकारहरुसँगको साक्षात्कारमा उषाले भनिन्, “निर्देशकले मलाई फिल्मको मुख्य पात्र लालिमाकै भूमिका अफर गर्नुभएको थियो । तर, कथा पढिसकेपछि मैले आमाको भूमिका गर्छु भनेँ ।”
उनका अनुसार यो निर्णय लिनुमा सामाजिक सञ्जालको एउटा कमेन्टले भूमिका खेलेको थियो । “फिल्मको प्रस्ताव आउनुभन्दा एक साताअघि फेसबुकमा मलाई कसैले ‘अब तपाईंले आमाको भूमिका गर्नुपर्छ’ भनेर कमेन्ट गरेको थियो । त्यो कुराले मेरो मनमा छोयो र मैले कलाकारको रूपमा यो चुनौती स्विकार्ने निर्णय गरेँ,” उनले प्रस्ट पारिन् ।
उषाको विचारमा कलाकारका लागि भूमिका ठुलो वा सानो हुनुभन्दा पनि पात्रको गहिराइ महत्त्वपूर्ण हुन्छ । दक्षिण एसियाली मुलुकहरूमा निश्चित उमेरपछि महिला कलाकारलाई आमा, दिदी वा भाउजूको भूमिकामा मात्र सीमित राखिने प्रचलनप्रति उनले आफ्नो फरक मत राखिन् ।
उनी भन्छिन्, “आमा वा दिदीको भूमिका खेल्नु नराम्रो होइन । कलाकारको रूपमा हाम्रो पहिलो दायित्व कथालाई न्याय गर्नु र त्यसलाई अगाडि बढाउनु हो । मैले त छानेरै यो भूमिका लिएकी हुँ ।” चलचित्रमा उनको छोरीको भूमिकामा अभिनेत्री रोश्नी कार्की देखिनेछिन् ।
४० वर्षको उमेर पनि नकाटिसकेकी उषालाई भविष्यमा एउटै किसिमको (टाइपकास्ट) भूमिकामा खुम्चिनुपर्ने डर छैन । उनी आफूलाई आर्थिक रूपमा कलाकारितामा मात्र निर्भर नबनाएकाले यो स्वतन्त्रता मिलेको बताउँछिन् ।
“म टाइपकास्ट नहोऊँ भनेरै आम्दानीका लागि छुट्टै जागिर पनि खाइरहेकी छु,” उनले निर्धक्क भनिन्, “यदि कलाकारिता मात्र मेरो आम्दानीको स्रोत हुन्थ्यो भने म डुब्थेँ र बाँच्नकै लागि जे जस्तो भूमिका पनि गर्नुपर्ने हुन्थ्यो । तर अहिले मसँग भूमिका छनोट गर्ने क्षमता र अवसर दुवै छ ।”
पछिल्लो समय उषाले जानीजानी सहायक भूमिकाहरूमा काम गरिरहेकी छिन् । नेपाली फिल्ममा प्रायः सहायक पात्रलाई ‘शो-पिस’ का रूपमा मात्र प्रयोग गरिने प्रवृत्तिलाई उनी बदल्न चाहन्छिन् । मुख्य भूमिकामा हुँदा संवाद र उपस्थिति बढी भए पनि सहायक पात्रलाई पनि उत्तिकै बलियो र अर्थपूर्ण बनाउनुपर्ने उनको मान्यता छ ।



