बोर्ड दक्ष प्राविधिक उत्पादनमा केन्द्रित होस्

नेपाली चलचित्र उद्योगको सर्वोच्च संस्था चलचित्र विकास बोर्ड हो । त्यसैले चलचित्रकर्मी र सम्बन्धित सरोकारवाला संस्थाले बोर्डबाट अपेक्षा राख्नु स्वभाविक हो । अभिभावकीय जिम्मेवारी निभाउने निकायबाट अपेक्षा राख्नु नौलो होइन । त्यसैले बोर्डले पनि हरसम्भव चलचित्र क्षेत्रका माग सुन्नुपर्छ । पूरा गर्नुपर्छ । आफूले तत्काल गर्न नसक्ने कामका लागि सम्बन्धित निकायसँग पहल गर्नुपर्छ । बोर्डको जिम्मेवारी पनि यही नै हो ।

बोर्ड आफैँमा स्वायत्त छैन । बोर्डसँग ठूलो बजेट पनि छैन । त्यसैले यसले चाहेर पनि धेरै काम गर्न सक्दैन । छोटो समयमै उलटफेर हुनेगरी काम गर्न सक्दैन । तर, गर्न सक्ने जति काम पनि गर्यो कि गरेन, यो भने समीक्षाको विषय हो । आलोचनात्मक पाटो हो ।

किन स्वयं चलचित्रकर्मीहरू नै बोर्डको खारेजीको माग गर्छन्, यो सोचनीय पक्ष हो । बार्डका पदाधिकारी र यसका उच्च पदस्थ कर्मचारीले आत्मसमीक्षा गर्ने विषय हो । बोर्डलाई आफ्नो नियन्त्रणमा राखिरहने सञ्चार मन्त्रालयप्रति पनि यो प्रश्न तेर्सिन्छ । स्वायत्त बनाउने कि हात–खुट्टा बाँधेर राख्ने यो सरकारले सोच्ने विषय हो ।

विकास बोर्ड आफैँमा धेरै बजेट भएको संस्था होइन । त्यसैले धेरै काम त चाहेर पनि गर्न सक्दैन । तर, इच्छा शक्ति भयो भने चाहिँ धेरै काम गर्न सक्छ, चाहे त्यो सानोसानो काम नै किन नहोस् । तत्काल हेर्दा सानो देखिने तर दीर्घकालीन रूपमा ठूलो असर पार्ने काम गर्न सकिन्छ ।

यसमा केही हदसम्म अहिले बोर्डको ध्यान गएको देखिएको छ । २०८२ लाई बोर्डले दक्षता अभिवृद्धिको वर्षका रुपमा अघि सार्दै विभिन्न प्रशीक्षण कार्यक्रम गरिरहेको छ । यसै शिलसिलामा पछिल्लोपटक बोर्डले सिंक साउन्डको प्रशीक्षण दिएको थियो, जसमा २२ जना प्राविधिकले भाग लिएका थिए ।

अघिल्लो हप्ता कलाकारलाई घोडचढी तालिम दिएको थियो । पौडी, ड्रोन उडाउने प्रशीक्षण, मेकअप, स्क्रिप्ट लेखन, सर्ट फिल्म मेकिङलगायत थुप्रै शिपमुलक तालिम प्रदान गरेको छ ।

यसले आजको भोलि नै चलचित्र उद्योगमा प्रभाव नेदेखिए पनि सुदूर भविष्यमा दक्ष जनशक्ति उत्पादनमा ठूलो भूमिका खेल्नेछ । दक्ष जनशक्ति भएपछि नै चलचित्रको स्तरोन्नती बढ्दै जाने हो । त्यसैले ठूलो काम गर्न नसके पनि बोर्डले आफ्नो क्षमताले भ्याएसम्म दक्ष जनशक्ति उत्पादनमा काम हुँदै/गर्दै जाओस्, ताकि दक्ष प्राविधिकको खोजी गर्दै चलचित्रको निर्माण टिम विदेश जान नपरोस् ।