‘काजी’ पूर्वनिर्धारित मितिमा प्रदर्शन नहुने, ‘पहाड’लाई राहत
काठमाडौं । चलचित्र ‘काजी’ पूर्वनिर्धारित समयमा प्रदर्शन नहुने भएको छ । चैत २७ गते प्रदर्शनमा आउने भनिए पनि अन्तिममा आएर यो चलचित्र पछि सर्ने भएको छ । यो चलचित्रको मुख्य भूमिकामा विपीन कार्की र केकी अधिकारी छन् ।
लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको यो चलचित्र अझै केही खिच्न बाँकी रहेको निर्माण टिमले बताएको छ । त्यसैले हतारमा आउनेभन्दा पनि समय लिएर पोस्ट प्रोडक्सनमा टाइम लगाएर आउने निर्माण टिमको तयारी छ ।
निर्माता रामप्रसाद रिजालले ‘आर्टखबर’सँग कुरा गर्दै भने, ‘‘हामी चैत २७ गते नै आउने तयारीमा थियौँ, तर कलाकारहरूको कार्यतालिका (शेड्युल) मिलेन । अब हामी यही चैत २६ गतेपछि बाँकी रहेको छायांकन पुरा गर्नेछौँ । हतार गरेर आउनुभन्दा पोस्ट प्रोडक्सनमा राम्रो समय दिएर उत्कृष्ट फिल्म पस्कने हाम्रो लक्ष्य छ ।’’
निर्माण पक्षले चलचित्रको नयाँ प्रदर्शन मिति भने केही समयपछि मात्रै सार्वजनिक गर्ने जानकारी दिएको छ ।
यदि, यो चलचित्र चैत २७ गते प्रदर्शनमा आएको भए यसको तीन दिनपछि विपीनकै अर्को चलचित्र ‘पहाड’ रिलिज हुँदै थियो । त्यसैले एकै समय विपीनका दुई सिनेमा हलमा हुने थिए । तर, ‘काजी’ चैत २७ मा नआउँदा ‘पहाड’लाई केही राहत हुनेछ । किनकि एकै कलाकारका चलचित्र एकै समयमा आउँदा पब्लिसिटीमा समस्या हुन्छ ।
रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको चलचित्रमा विपीन कार्की र केकी अधिकारी मुख्य भूमिकामा छन् । गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।
‘प्रसाद २’पछि दर्शकले रुचाएको विपिन कार्की र केकी अधिकारी यस सिनेमा मार्फत पुनः एकसाथ पर्दामा देखिँदै छन् । लामो समयको अन्तरालपछि यो जोडी फेरि एकसाथ पर्दामा देखिने भएपछि चलचित्र ‘काजी’को चर्चा छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको यो सिनेमाबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनले बताएका छन् ।
उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।
सिनेमाको कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, विकाशराज जोशी रहेका छन् । वितरक श्रीराम बालाजी फिल्म्स रहेको छ ।
चलचित्रमा प्रदीप भारद्धाजको लेखन रहेको छ । सिनेमालाई चिन्तन राजभण्डारीले खिचेका छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका छन् ।



