थलापति विजयको २५ वर्ष लामो वैवाहिक सम्बन्धमा दरार, पत्नीले हालिन् सम्बन्धविच्छेदको मुद्दा

मुम्बई । दक्षिण भारतीय चलचित्रका ‘सुपरस्टार’ तथा ‘तमिलगा वेत्रि  कझगम’का अध्यक्ष थलापति विजयको वैवाहिक जीवन संकटमा परेको खबरले भारतीय मनोरञ्जन क्षेत्रमा हलचल मच्चाएको छ ।

विगत २५ वर्षदेखि सुखद दाम्पत्य जीवन बिताइरहेका विजय र उनकी श्रीमती संगीताबीचको सम्बन्ध विच्छेदको विषय अहिले कानुनी प्रक्रियामा पुगेको दाबी गरिएको छ ।

जानकारी अनुसार संगीताले चेङ्गलपट्टु परिवार अदालतमा सम्बन्ध विच्छेदको लागि औपचारिक निवेदन दायर गरेकी छिन् । उनले विजयमाथि गम्भीर आरोपहरू लगाउँदै अलग हुने निर्णय लिएको बताइएको छ ।

सम्बन्ध विच्छेदको निवेदनमा संगीताले विजयमाथि ‘वैवाहिक विश्वासघात’ को गम्भीर आरोप लगाएकी छिन् । निवेदनमा उल्लेख भए अनुसार विजयको एक चर्चित अभिनेत्रीसँग अवैध सम्बन्ध रहेको दाबी गरिएको छ ।

संगीताले अप्रिल २०२१ मा पहिलो पटक विजय अर्की अभिनेत्रीसँग सम्बन्धमा रहेको पत्ता लगाएकी थिइन् । यस खुलासाले उनलाई ठूलो मानसिक र भावनात्मक आघात पुर्याएको निवेदनमा उल्लेख छ । संगीताका अनुसार विजयले ती अभिनेत्रीसँग सार्वजनिक रूपमा हिँडडुल गर्ने र सामाजिकीकरण गर्ने क्रम जारी राखेपछि आफ्ना छोराछोरीको अगाडि आफूले लज्जा र पीडा महसुस गर्नु परेको थियो ।

संगीताले विजयमाथि २०२१ देखि नै आफूसँग भावनात्मक दूरी बनाएको र दुर्व्यवहारपूर्ण व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले आफूलाई एउटै घरमा भएर पनि एक्लो महसुस गराइएको र विजय प्रायः ती अभिनेत्रीसँग विदेश भ्रमण तथा सार्वजनिक कार्यक्रमहरूमा व्यस्त रहने गरेको उल्लेख गरेकी छिन् ।

त्यति मात्र होइन, ती अभिनेत्रीले सामाजिक सञ्जालमा विजयसँगका निकट तस्बिरहरू निरन्तर पोस्ट गर्ने गरेको र विजयले त्यसलाई कहिल्यै खण्डन नगरेको कुरालाई पनि संगीताले प्रमाणको रूपमा पेश गरेकी छिन् । यसले गर्दा विजयको ती अभिनेत्रीसँगको सम्बन्धको मौन स्वीकृति देखिएको उनको दाबी छ ।

विजय र संगीताको विवाह सन् १९९९ को अगस्टमा भएको थियो । उनीहरूका दुई सन्तान छोरा जेसन संजय र छोरी दिव्या साशा छन् । केही समयअघिसम्म उनीहरूलाई दक्षिण भारतीय चलचित्र उद्योगकै एक ‘आदर्श जोडी’ को रूपमा हेरिन्थ्यो । तर, पछिल्ला केही वर्षदेखि विजयका सार्वजनिक कार्यक्रमहरूमा संगीताको अनुपस्थितिले उनीहरूबीच खटपट रहेको अड्कलबाजी सुरु भएको थियो ।

सम्बन्ध विच्छेदको यो निवेदन ‘विशेष विवाह ऐन १९५४’ अन्तर्गत दायर गरिएको बताइएको छ । यो कानुन अनुसार यदि पति वा पत्नीमध्ये कसैले व्यभिचार वा क्रूरता गरेको प्रमाणित भएमा अर्को पक्षले सम्बन्ध विच्छेद पाउन सक्छ ।

यद्यपि, यो समाचार सार्वजनिक भए पनि अभिनेता विजय वा उनकी श्रीमती संगीताको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक पुष्ट्याइँ वा बयान आएको छैन ।

चलचित्र क्षेत्रमा उचाइ हासिल गरेपछि हालै मात्र विजयले राजनीतिमा प्रवेश गर्दै आफ्नै दल ‘तमिलगा वेत्रि कझगम’ घोषणा गरेका छन् । उनले २०२६ को तमिलनाडु विधानसभा चुनावअघि अभिनयबाट सन्न्यास लिएको घोषणा गरेका थिए । राजनीतिको यो महत्त्वपूर्ण मोडमा व्यक्तिगत जीवनको यो विवादले उनलाई कस्तो असर पार्छ भन्ने चासोको विषय बनेको छ ।

अर्कोतर्फ, विजय चाँडै नै चलचित्र “जन नायकन” मा देखिने छन् । तर, यो चलचित्र पनि हाल कानुनी झमेलामा फसेको र यसको रिलिजको बारेमा कुनै आधिकारिक मिति तय नभएको बताइएको छ ।