यी अभिनेत्रीसँगको सम्बन्धका कारण थलापति विजयको वैवाहिक जीवन टुट्न लागेको आरोप

मुम्बई । तमिल सुपरस्टार थलापति विजय र उनकी पत्नी संगीता सोर्नालिंगमबीचको वैवाहिक सम्बन्ध टुट्ने संघारमा पुगेको खबरले भारतीय मनोरञ्जन क्षेत्र तातेको छ । लामो समयदेखि चल्दै आएको उनीहरूको सम्बन्ध विच्छेदको हल्लालाई हालै सार्वजनिक भएको एक अदालती निवेदनले थप बल पुर्‍याएको छ ।

संगीताले चेंगलपट्टु पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दर्ता गराएको दाबी गरिएको छ । उक्त निवेदनमा विजयमाथि गम्भीर आरोपहरू लगाइएका छन् ।

अदालतमा दायर गरिएको भनिएको उक्त निवेदनमा विजय र संगीताको सम्बन्ध सन् २०२१ देखि नै बिग्रिएको उल्लेख छ । निवेदनमा भनिएको छ, “सन् २०२१ देखि प्रतिवादी (विजय) भावनात्मक रूपमा टाढा रहँदै आएका छन् । उनले मौखिक रूपमा दुर्व्यवहार गर्ने गरेको र निवेदक (संगीता) लाई जबरजस्ती अलग बस्न बाध्य पारेका छन् ।”

यसका साथै, निवेदनमा अभिनेताको विवाहेत्तर सम्बन्ध रहेको समेत दाबी गरिएको छ । विजयले एक अभिनेत्रीसँग वैदेशिक भ्रमण गरेको र सार्वजनिक कार्यक्रमहरूमा सँगै देखिएको आरोप लगाइएको छ । ती अभिनेत्रीले सामाजिक सञ्जालमा उनीहरूको यात्राका तस्बिरहरू निरन्तर पोस्ट गर्ने गरेको कुरालाई पनि प्रमाणको रूपमा पेश गरिएको बुझिएको छ ।

अदालती निवेदनमा कुनै अभिनेत्रीको नाम स्पष्ट रूपमा नलिइए पनि सामाजिक सञ्जालमा भने अभिनेत्री त्रिशा कृष्णनको नाम जोडतोडले उठिरहेको छ ।

विजय र त्रिशाबीचको प्रेम सम्बन्धका कारण नै विजयको घरबार बिग्रिएको भन्दै सामाजिक सञ्जालमा विभिन्न ट्वीट र पोस्टहरू भइरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, “विजय र त्रिशाको अफेयरको हल्ला अन्ततः सत्य साबित भयो, संगीताको लागि निकै दुःख लागेको छ ।”

कतिपय प्रशंसकहरूले विजयको पछिल्लो व्यवहारले उनीहरूलाई निराश बनाएको प्रतिक्रिया दिएका छन् । उनीहरुले त्रिशा र विजयको पुराना पोस्टहरूलाई पुनः खोतल्न थालेका छन् ।

विशेषगरी सन् २०२४ मा विजयको जन्मदिनको अवसरमा त्रिशाले राखेको पोस्ट अहिले चर्चाको विषय बनेको छ । त्रिशाले विजयसँगको एक तस्बिर सेयर गर्दै लेखेकी थिइन्, “मेरो आँधीमा शान्ति” उनले विजयलाई आफ्नो ‘बेस्टेस्ट’ भन्दै सम्बोधन गरेकी थिइन्, जसलाई अहिले धेरैले उनीहरूको लुकेको सम्बन्धको संकेतका रूपमा लिएका छन् ।

विजय र त्रिशा तमिल सिनेमाका सबैभन्दा रुचाइएका जोडी हुन् । सन् २००४ को ब्लकबस्टर फिल्म ‘गिल्ली’ बाट सुरु भएको उनीहरूको सहकार्यले धेरै हिट फिल्महरू दिएको छ । पर्दामा उनीहरूको उत्कृष्ट केमेस्ट्रीका कारण उनीहरूलाई दर्शकले सधैं मन पराउँदै आएका थिए । तर, अहिले यही केमेस्ट्री वास्तविक जीवनमा विवादको कारण बनेको छ ।

यद्यपि, यस विषयमा विजय वा त्रिशाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक स्पष्टीकरण आएको छैन ।

तमिल फिल्म उद्योगका सर्वाधिक सफल अभिनेता मानिएका विजय अभिनयबाट सन्न्यास लिएर राजनीतिमा होमिसकेका छन् । सन् २०१४ मा तमिलगा वेत्री कझगम (टीभीके) पार्टी सुरु गर्दै उनले २०२६ को तमिलनाडु विधानसभा चुनावअघि अभिनयबाट सन्न्यास लिएको घोषणा गरेका थिए । उनको अन्तिम फिल्म ‘जन नायगन’ (जन नेता) कानुनी झमेलामा फसेका कारण प्रदर्शन हुन सकेको छैन ।

विजय हाल राजनीतिमा सक्रिय रहेकाले यो विवादले उनको राजनीतिक करियरमा कस्तो असर पार्छ भन्ने चासोको विषय बनेको छ ।