यसकारण अब अनमोललाई फल्प सिनेमा दिने छुट छैन
काठमाडौं । अनमोल केसीले आफूलाई प्रमाणित गर्न एक दशक कुर्नुपर्यो । बक्सअफिसमा आफूलाई अब्बल प्रमाणित गर्न अनमोलले ‘जेरी अन टप’सम्म कुर्नुपर्यो ।
मोटो पारिश्रमिक लिने, सिनेमाको हाइप पनि राम्रो हुने, दर्शक र मेकर दुवैलाई अपेक्षा पनि ठूलै हुने, सिनेमा पनि बिग बजेटको हुने तर बक्सअफिसमा प्रायः सधैँ असफल । त्यसैले प्रायः सिनेमा रिलिज पछि अनमोल त्यति खुसी देखिँदैन थिए । चुपचाप बसिरहन्थे ।
पछिल्ला वर्ष त उनी चलचित्रमा अनुबन्ध भए पछि आफ्नो चलचित्र यात्रा फेरि शून्यबाट सुरु भएको बताउँथे । र, पहिलाजस्तै माया र साथ दिन दर्शकसँग नम्र अनुरोध गर्थे ।
चलचित्र ‘छड्के २’ बक्सअफिसमा डिजास्टर भएपछि उनले आफू अब सोचविचार गरेर मात्रै चलचित्र गर्ने भन्दै आफूले गल्ती गरेको बताएर पुनः शून्यबाट करिअर सुरु गर्न लागेको बताएका थिए ।
जतिसुकै चर्चा भए पनि बक्सअफिसमा उनका चलचित्र सफल हुन नसकिरहेका बेला ‘जेरी अन टप’ले उनलाई राहत दियो । १२ करोडभन्दा माथि ग्रसकलेक्सन गरेर अनमोलले काम गरेका सम्पूर्ण चलचित्रलाई पछि पारेको थियो ।
अब अनमोल अभिनीत चलचित्र ‘बाटुलो जुन’ रिलिज हुनेछ । ‘जेरी अन टप’पछि अब दर्शकको नजर पोष्टप्रोडक्सनमा रहेको चलचित्र ‘बाटुलो जुन’मा छ । यो चलचित्र बक्सअफिसमा सक्सेस हुन्छ कि हुँदैन भन्नेमा दर्शक र मेकरको चासो छ ।
अनमोलले आफूलाई विगतका चलचित्रले पाठ सिकाएको र अब चलचित्रको कथा छनोटमा ध्यान दिने बताएका थिए । त्यसैले अनमोलको ‘बाटुलो जुन’ दर्शकले मन पराउलान् किन होइन, बक्सअफिसमा ‘जेरी अन टप’जस्तै सफल हुन्छ कि हुँदैन भन्नेमा धेरैको चासो छ ।
यदि, ‘बाटुलो जुन’ बक्सअफिसमा सक्सेस भयो भने अनमोलको सिने करियर थप बुस्ट हुनेछ । ‘जेरी अन टप’ले गुलजार बनाएको उनको करियर थप उचालिनेछ । यो सिनेमा बक्सअफिसमा सफल भयो भने अनमोलप्रति ठूलो लगानी गर्न मेकर हिचकिचाउने छैनन् । र, उनलाई दिने गरेको ५० लाख पारिश्रकिकको पनि आलोचना हुने छैन ।
तर, यदि ‘बाटुलो जुन’ बक्स अफिसमा असफल भयो भने ‘जेरी अन टप’ले उचालेको अनमोलको करियर पुनः आरोलो लाग्नेछ । र, उनीमाथि मोटो रकम लगानी गर्न मेकर पनि हिचकिचाउने अवस्था आउनेछ । त्यसैले अनमोलको करियर थप गुलजार हुँदै सिधा रेखामा अगाडि बढ्न उनका लागि ‘बाटुलो जुन’ असफल हुने छुट छैन ।
समकालीन नायकका चलचित्र लगातार सफल भइरहेका बेला अनमोललाई सँगै दौडिन पनि यो चलचित्र चल्नै पर्ने दबाब छ । त्यसैले समकालीनहरूको भीडमा अग्लो देखिन पनि अनमोलका लागि ‘बाटुलो जुन’ चल्नै पर्छ । यसअर्थ ‘बाटुलो जुन’ अनमोलका लागि अग्नि परीक्षा हो ।
हुन त सबै चलचित्र सुपरहिट हुन्छन् भन्ने छैन । दयाहाङ राई, सौगात मल्ललगायत अभिनेताका चलचित्र नै लगातार बक्सअफिसमा असफल भइरहेका छन् । त्यसैले अनमोलको ‘बाटुलो जुन’ बक्सअफिसमा यदि सोचेजस्तो भएन भने आश्चर्यजनक होइन ।
तर, लगातार उनको दोस्रो चलचित्र सफल भयो भने उनको माग थप बढ्नेछ । र, उनको चर्चा र भरोसा थप बढ्नेछ । उनमा स्टारडम रहेको एक हदसम्म प्रमाणित पनि हुनेछ । समकालीनहरू बीच अनमोल सधैँ अगाडि रहेको प्रमाणित हुनेछ ।



