चलचित्र कथा–लेखन कार्यशालाका १० उत्कृष्टलाई उन्नत पटकथा तालिम
काठमाडौं । नेपाल फिल्म क्याम्पसको आयोजना तथा चलचित्र विकास बोर्डको सहयोगमा सञ्चालन गरिएको ‘चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला’को तेस्रो तथा अन्तिम संस्करण फागुन १६ गते सम्पन्न भएको छ ।
नेपाल फिल्म क्याम्पसमा आयोजित उक्त कार्यशालामा कथा लेखनमा रुचि भएका २५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा भारतको फिल्म एंड टेलिभिजन इन्स्टीच्युट अफ इंडियाबाट पोस्ट–ग्राजुएट गरी हाल नेपाल फिल्म क्याम्पसमा फिल्म निर्देशन विभाग प्रमुखका रूपमा कार्यरत केशव पाण्डेले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । उनले चलचित्र कथा विज्ञान, कथाको संरचना, चरित्र निर्माण, द्वन्द्व विकास र कथा लेखन प्रक्रियाका आधारभूत सिद्धान्तबारे प्रशिक्षण दिएका थिए ।
पटकथा लेखक तथा फिल्म पत्रकार सामिप्यराज तिमिल्सिनाले ‘नेपाली चलचित्रमा कथा’ शीर्षकमा विशेष सत्र सञ्चालन गर्दै नेपाली चलचित्रको कथागत प्रवृत्ति, बजारको आवश्यकता र मौलिक विषयवस्तुको महत्त्वबारे प्रस्तुति दिएका थिए ।
तीन संस्करणमा सम्पन्न यस कार्यशालामा कुल ७५ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सहभागीमध्ये उत्कृष्ट कथा लेखन क्षमता देखाउने १० जनालाई छनोट गरी आगामी दिनमा विशेष पटकथा लेखन सम्बन्धी उन्नत कार्यशाला सञ्चालन गरिने नेपाल फिल्म क्याम्पसले जानकारी दिएको छ ।
आयोजकका अनुसार नयाँ पुस्ताका सृजनशील लेखकहरू उत्पादन गर्दै नेपाली चलचित्र क्षेत्रमा गुणस्तरीय कथाको अभाव पूर्ति गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको हो । यस्तो कार्यक्रमले चलचित्र क्षेत्रमा कथाको स्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।



