पलको ‘आ बाट आमा’ले कमायो सवा १२ करोड

काठमाडौं । चलचित्र ‘आबाट आमा’ले घरेलु बक्सअफिसमा उल्लेख्य कमाइ गरिरहेको छ । यो चलचित्रले करिब सवा १२ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार रातिसम्मको बक्सअफिस रिपोर्ट अनुसार ‘आबाट आमा’ले १२ करोड २३ लाख ३८ हजार रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

माघ १६ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको चन्द्र पन्त निर्देशित यो चलचित्र सिनेपाः बक्सअफिस रिपोर्ट अनुसार यस अवधिमा कुल ४ लाख ६१ हजार ५७२ जनाले हेरेका छन् ।

कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता रहेको यस चलचित्रमा अभिनेत्री विपना थापा, पल शाह, दक्षिण भारतीय कलाकार प्रदीप रावत, सिम्रन पन्त, साइग्रेस पोखरेल र उषा उप्रेतीको मुख्य भूमिका रहेको छ ।

चलचित्रले बक्सअफिसमा सोचेभन्दा राम्रो व्यापार गरेपछि निर्माण पक्ष थप उत्साहित बनेको छ । चलचित्र सुपरहिट भएसँगै निर्देशक पन्त र निर्माण टिमले यसको सिक्वेल अर्थात् ‘आबाट आमा २’ निर्माण गर्ने औपचारिक घोषणा समेत गरिसकेका छन् ।

यसअघि यो वर्ष रिलिज भएका चलचित्र ‘परान’ले १७ करोड ८४ हजार ४७ हजार, ‘जेरी अन टप’ले १२ करोड २६ लाख ६ हजार र ‘ऊनको स्वीटर’ले ११ करोड ४१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेका थिए ।