चार करोडमा हलमा आइपुगेको ‘कुमारी’को कमाइ करोडभन्दा तल

काठमाडौं । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली सिनेमाहरुको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा बक्सअफिस’ ले प्रदर्शनरत नेपाली चलचित्रको गएको फागुन १६ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो ।

दिनेश राउत निर्देशित चलचित्र ‘कुमारी’ घरेलु बक्सअफिसमा निकै कमजोर देखिएको छ । माघ २३ गतेबाट रिलिज भएको यो चलचित्रले बक्सअफिसमा एक करोडको आंकडा पनि छुन सकेको छैन ।

व्यावसायिक रूपमा असफल देखिएको चलचित्र ‘कुमारी’ करिब ४ करोड रुपैयाँको कुल बजेटमा निर्माण भएको थियो । निर्माण पक्षका अनुसार चलचित्रको प्रचारप्रसार (पब्लिसिटी) मा मात्रै १ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको थियो ।

यस चलचित्रले फागुन १६ गतेसम्म देशभरबाट मात्र ६४ लाख ४८ हजार १२६ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो कमाइ पब्लिसिटीमा गरिएको खर्चभन्दा पनि निकै कम हो । बक्सअफिस तथ्याङ्क अनुसार यस अवधिमा देशभरका हलहरूमा जम्मा १९ हजार ९ सय ५९ जना दर्शकले मात्र यो चलचित्र हेरेका छन् ।

यस चलचित्रलाई महेन्द्र अधिकारीले लगानी गरेका हुन् । विकास सुवेदीको लेखन रहेको चलचित्रमा अभिषेक खड्का, आकृति राजभण्डारी, घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकांक्षा कार्की लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

केदार भुसाल कार्यकारी निर्माता रहेको यस चलचित्रलाई सुशन प्रजापतिले छायांकन र सुप्रिम पराजुलीले सम्पादन गरेका थिए ।

दिनेश राउत जस्ता स्थापित निर्देशक र मोटो लगानी भए तापनि ‘कुमारी’ ले बक्सअफिसमा जादु चलाउन सकेन, जसले गर्दा निर्माताले ठुलो आर्थिक घाटा बेहोर्नुपर्ने देखिएको छ । यो चलचित्र करिब–करिब हलबाट बाहिरिएको छ । अब एकाध हलमा मात्रै प्रदर्शनमा छ ।

‘कुमारी’ सँगै प्रदर्शनमा आएको अर्को चलचित्र ‘रमिताको पिरती’ को अवस्था त झन् दयनीय देखिएको छ । सुदिप्ता अधिकारीको निर्देशनमा बनेको यो चलचित्रले ३० लाखको आँकडा पनि पार गर्न सकेन । बोर्डको रिपोर्ट अनुसार यसले हालसम्म मात्र २८ लाख ६८ हजार १४३ रुपैयाँ कमाइ गरेको छ । यो चलचित्र हेर्न देशभर जम्मा ८ हजार ७ सय ३७ जना दर्शक हलसम्म पुगेका छन् ।

नेपाली चलचित्र बजारमा महँगो बजेटमा चलचित्र बनाउनु जति चुनौतीपूर्ण छ, त्यसको लगानी उठाउनु झन् कठिन छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको यी चलचित्रको बक्सअफिस तथ्याङ्कले यसै यथार्थलाई पुष्टि गरेको छ ।