प्रकाशले बालेनलाई भने- राजनेता, रविलाई त्यागी नेता

काठमाडौं ।  गायक तथा अभिनेता प्रकाश सपूतले नेपाली राजनीतिको वर्तमान परिदृश्य र भविष्यको नेतृत्वबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)सँगको एउटा तस्विर सार्वजनिक गर्दै सपूतले बालेनलाई केवल एक ‘राजनेता’ मात्र नभई देशलाई गति दिने ‘सक्षम कार्यकारी प्रधानमन्त्री’का रूपमा चित्रण गरेका छन् ।

रास्वपा समानुपातिक उम्मेदवार सूचिमा समेत रहेका सपूतले बालेनसँगको भेट केवल शिष्टाचार मात्र नभई थुप्रै नागरिक जिज्ञासा र राजनीतिक प्रश्नहरूको पोको रहेको खुलाएका छन् । उनले लेखेका छन्, “मैले उनीमाथि लागेका राजनैतिक आरोप, प्रत्यारोप र आलोचनाहरूलाई नोट गरेर लगेको थिएँ। फलानो लेखक र नेताले यसो भने भनेर एक–एक प्रश्न गरेको थिएँ।”

सपूतका अनुसार बालेनले ती सबै प्रश्नहरूको निकै शान्त र स्पष्ट जवाफ दिएका थिए । बालेन वर्तमान व्यवस्था र आफ्नो राजनीतिक विचारधारामा पूर्ण स्पष्ट रहेको र कुराभन्दा बढी कामलाई प्राथमिकता दिने गरेको सपूतको अनुभव छ ।

नेपालको राजनीतिक इतिहासमा व्यवस्था परिवर्तनका लागि लड्ने धेरै राजनेताहरू पाए पनि देशलाई आर्थिक र प्रशासनिक रूपमा गति दिने कार्यकारी प्रमुखको अभाव रहेको सपूतको तर्क छ।

उनले बालेनको प्रशंसा गर्दै भनेका छन्, “मलाई लाग्यो, अब हाम्रो देशले विचारको भारी बोकेर राजनीतिक शक्ति सन्तुलनमा अल्झिने नेता होइन, सिधै कार्यकारी भएर देशलाई गति दिने प्रधानमन्त्री पाउँदैछ। बालेन एउटा राजनेताका रूपमा भन्दा एउटा कार्यकारी प्रधानमन्त्रीका रूपमा सम्झिने सक्षम र इमान्दार व्यक्ति बन्नेछन् ।”

यस्तै, सपूतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ‘त्यागी’ नेताको संज्ञा दिएका छन् । नेपाली राजनीतिमा रवि लामिछानेको योगदान र उनले देखाएको राजनीतिक मार्गको चर्चा सधैं भइरहने उनको विश्वास छ ।

रवि र बालेनको सहकार्य वा उनीहरूको उदयलाई उनले ‘सुन्दर समीकरण’ भन्दै यसलाई देश विकासका लागि एउटा सुनौलो अवसरका रूपमा व्याख्या गरेका छन् । उनले भनेका छन्, “नेपाली राजनीतिमा रवि–बालेनको जस्तो सुन्दर समीकरण बिरलै देख्न पाइन्छ। यो हाम्रा लागि एउटा अवसर हो, यसको सदुपयोग गरौँ ।”

गायक सपूतले आम नागरिकलाई आगामी निर्वाचनहरूमा केवल आफ्नो क्षेत्रको उम्मेदवार मात्र नभई देशको समग्र आवश्यकतालाई हेरेर मतदान गर्न आग्रह गरेका छन्। उनले देशलाई कम्तीमा ५ वर्ष अस्थिरताबाट जोगाउन र आलोपालो प्रधानमन्त्री बन्ने ‘कुर्सीको खेल’ बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

“तपाईँको एक भोटले स्पष्ट बहुमतसहितको स्थायी सरकार निर्माण गर्न निर्णायक भूमिका निर्वाह गरोस् । शंका, विश्वास र खबरदारी गर्न एउटा स्पष्ट शक्ति स्थापित गरौँ,” उनले भनेका छन् ।