निर्माता आफैँले टिकट किनेर बाँड्ने चलन तत्काल बन्द गर

नेपाली चलचित्र उद्योग अहिले टिकटको विषयले गर्माइरहेको छ । चलचित्र निर्माणमा मोटो रकम खर्च गरेका निर्माताले नै लाखौँ रुपैयाँका टिकट किन्नु पर्ने बाध्यात्मक अवस्था रहेको विषयले निर्मातालाई पिरोलिरहेको छ ।

चलचित्रमा करोडौं रुपैयाँ खर्च गरिसकेपछि दर्शकले टिकट किनेर चलचित्र हेर्नु पर्नेमा उल्टै निर्माताले टिकट काटेर दर्शकलाई बाँड्दै हिँड्नुपर्ने अवस्थाले कतिपय निर्माता तनावमा छन् ।

यो तथ्य चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले उजागर गरेका थिए । आफ्नो उत्रिसकेको चलचित्र १० देखि १२ लाख रुपैयाँको टिकट आफैँले किनेर दर्शकलाई बाँडेपछि बौरिएर ऐतिहासिक ग्रसकलेक्सन गरेको उनले हाकाहाकी बोलेका थिए । विनोदले यसलाई मार्केटिङको रणनीति भनेका थिए । त्यसपछि नेपाली चलचित्र उद्योगमा यो फेसनजस्तै बन्यो ।

अहिले अधिकांश चलचित्रका निर्माताले टिकट काट्ने गरेको सिनेमा हल तथा वितरक स्रोतहरू बताउँछन् । बाहिर निर्माताले मैले मेरो सिनेमाको टिकट काटेको छैन भनेर दाबी गर्नेहरूले पनि भित्रभित्रै किनिरहेको हुने गरेको स्रोतहरू बताउँछन् ।

त्यसो त कतिपय हलको किटक अगाडि नै हाउसफूल भएको देखिए पनि हलमा जाँदा दर्शक नहुने गरेको त धेरैले अनुभव गर्ने गरेको कुरा बाहिर आइरहेकै छ ।

एक-दुईवटा हल हाउसफूल हुँदा अन्य अधिकांश हल पाँचजना दर्शक नआएर शो क्यान्सिल हुने गरेका छन् । यसले पनि धेरै हदसम्म शंकाको सुविधालाई बल पुर्‍याउँछ । कसैका लागि कुनै समय यो रणनीतिले काम गर्यो भने पनि यो राम्रो होइन ।

महंगो रकम खर्चिएर चलचित्र पनि बनाउने अनि गोजी टक्टक्याइसकेको निर्माताले फेरि ऋण खोजेर टिकट किन्नु पर्ने तर त्यही टिकट किनेको पैसा पनि नउठ्ने हो भने न यो रणनीतिले काम गर्यो, न त निर्माताको मन नै खुसी हुन्छ ।

एकातिर यसले गलत ट्रेन्ड सेट गर्दैछ भने अर्कोतर्फ यसले नेपाली चलचित्र सित्तैँमा हेर्न पाइन्छ, किन टिकट काट्ने भन्ने भावनाको विकास गर्दैछ । यसले राम्रो चलचित्र बनाउने र नियमित चलचित्र बनाउने निर्माता र निर्देशकलाई नकारात्मक असर गर्छ ।

दर्शकमा नेपाली चलचित्रको टिकट होस्टेलमा, होटलमा, चिसा पसलमा, सुपरमार्केटमा सित्तैँमा बाडिन्छ भन्ने थाहा पाएपछि नेपाली चलचित्र पैसा तिरेर हेर्नै पर्दैन भन्ने ट्रेन्ड विकास भयो भने यसले जेन्युन मेकरलाई यो क्षेत्रबाटै पलायन गर्छ ।

राम्रो चलचित्र बनाएको मेकरले मैले राम्रो सिनेमा बनाएको छु, किन टिकट किनेर बाँड्ने भनेर बस्यो भने उसको चलचित्र नै नचल्ने दिन आयो भने त्यसले नेपाली चलचित्र उद्योगलाई कहाँ पुर्‍याउँछ ? यसले चालचित्र उद्योगलाई अधोगतितर्फ धकेल्दै छ । यसले राम्रा र इमानदार मेकरलाई हतोत्साहित गर्दैछ ।

एकपटक अनुभवका लागि आउने अथवा कालो धनलाई सेतो बनाउन आउनेहरूलाई त यसले फरक नपार्ला तर आफैँले दुःख गरेर कमाएको, घर सम्पत्ति बेचेर चलचित्र बजाउने मेकरको त जहाज डुब्छ ।

त्यसैले यो गलत प्रवृत्तिलाई प्रश्रय होइन अन्त्य गर्नुपर्छ । यसलाई अझै बढावा दिँदै जाने हो भने अन्ततः इमानदार मेकरले चलचित्र बनाउनै नसक्ने र नेपाली चलचित्र पैसा तिरेर हेर्ने पर्दैन टिकट सित्तैंमा हात पर्छ भन्ने दिन नआउला भन्न सकिन्न । त्यसैले चलचित्रको हित चाहनेले निर्माता आफैँले टिकट किन्ने गलत प्रवृत्तिलाई सबैले तत्काल अन्त्य गर्नुपर्छ ।