४ हजार करोडको ‘रामायण’मा ४ सयको विग, फ्यानहरूले भने- आदिपुरुषबाट केही सिक्नुभएन ?

काठमाडौं । बलिउडका चर्चित निर्देशक नितेश तिवारीको ड्रिम प्रोजेक्ट ‘रामायण’ यतिबेला भारतीय सिनेमा जगतकै सबैभन्दा प्रतिक्षित र खर्चिलो फिल्म मानिएको छ ।

करिब ४ हजार करोड (४ अर्ब भारतीय रुपैयाँ) को विशाल बजेटमा निर्माण भइरहेको यो फिल्मको बारेमा हरेक सानो जानकारीले पनि इन्टरनेटमा तहल्का मच्चाइरहेको छ । तर, हालै फिल्मको सेटबाट अभिनेता रणबीर कपूरको ‘भगवान राम’ को लुक्स लीक भएपछि भने फ्यानहरू उत्साहित हुनुको सट्टा आक्रोशित बनेका छन् ।

सामाजिक सञ्जाल प्लेटफर्म ‘रेडिट’ र अन्य सञ्चार माध्यममा भाइरल भएका तस्बिरहरूमा रणबीर कपूर भगवान रामको अवतारमा देखिएका छन् । तस्बिरमा उनले भगवा रंगको धोती लगाएका छन्, शरीरमा जनै भिरेका छन् र शरीरको माथिल्लो भाग खुला छ (जसलाई उनले कालो केपले छोपेका छन्)।

विवादको मुख्य जड भने रणबीरले लगाएको ‘विग’ (नक्कली कपाल) बनेको छ । धेरै प्रयोगकर्ताहरूले उक्त विग निकै सस्तो, अस्वभाविक र फिल्मको स्तर अनुसारको नभएको भन्दै आलोचना गरिरहेका छन् ।

रणबीरको यो लुक्सलाई लिएर ट्रोलिङ सुरु भएको छ । धेरैले यसलाई प्रभासको फ्लप फिल्म ‘आदिपुरुष’ सँग तुलना गरेका छन् । ‘आदिपुरुष’ खराब भिएफएक्स र कलाकारको लुक्सकै कारण विवादमा परेको थियो ।

एक प्रयोगकर्ताले लेखेका छन्, “४००० करोडको बजेट भनिन्छ, तर विग भने ४०० रुपैयाँको जस्तो देखिन्छ । के निर्माताहरूले आदिपुरुषको ठूलो असफलताबाट केही पाठ सिकेनन् ?।”

अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “यति महँगो फिल्ममा कम्तीमा एउटा राम्रो गुणस्तरको विग त प्रयोग गर्नुपथ्र्यो ।”

यद्यपि यी तस्बिरहरू फिल्मकै सेटबाट लीक भएको दाबी गरिएको छ, तर निर्माण पक्षले यसबारे आधिकारिक रूपमा केही बोलेको छैन ।

केही फ्यानहरूले भने यी तस्बिरहरू पुराना हुन सक्ने वा ‘रअ’ फुटेज भएकाले यस्तो देखिएको हुन सक्ने तर्क गरेका छन् । अब हेर्न बाँकी छ, निर्देशक नितेश तिवारीले दर्शकको यो आशंकालाई ट्रेलर र फिल्ममार्फत कसरी मेटाउनेछन् ।

यो फिल्मलाई लिएर एउटा अर्को ठूलो चर्चा पनि छ । हलिउडका दिग्गज निर्देशक क्रिस्टोफर नोलनले यो फिल्मको सम्पादन र अन्तिम समीक्षामा सहयोग गर्ने सम्भावना छ ।

फिल्मका निर्माता नमित मल्होत्राको कम्पनी ‘DNEG’ ले नोलनका धेरै फिल्महरूमा ‘ओस्कार’ जित्ने स्तरको भिएफएक्स काम गरिसकेकाले यो सहकार्य सम्भव देखिएको हो ।

फिल्ममा हलिउड स्तरको प्रविधि प्रयोग गरिएको र यसलाई भारतीय सिनेमाको इतिहासमै सबैभन्दा भव्य बनाउने दाबी निर्माण पक्षले गर्दै आएको छ ।

फिल्ममा भगवान रामको भूमिकामा रणबीर कपूर, माता सीताको भूमिकामा साई पल्लवी, रावणको भूमिकामा यश, हनुमानको भूमिकामा सनी देओल, लक्ष्मणको भूमिकामा रवि दुबे देखिँदै छन् । यसका साथै फिल्ममा लारा दत्ता, रकुल प्रीत सिंह र विवेक ओबेरॉय जस्ता कलाकारहरू पनि महत्वपूर्ण भूमिकामा देखिने बताइएको छ ।