‘टक्सिक’को रिलिज स्थगित, कहिले आउँछ ?

काठमाडौं । दक्षिण भारतीय फिल्मका सुपरस्टार यशका फ्यानहरूले उनको कमब्याक हेर्न अझै केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।

आगामी मार्च १९ (चैत ५) मा विश्वभर प्रदर्शन हुने तयारीमा रहेको यशको बहुप्रतिक्षित फिल्म ‘टक्सिक: अ फेयरीटेल फर ग्रोन-अप्स’को रिलिज मिति आधिकारिक रूपमा स्थगित गरिएको छ ।

फिल्मका निर्माताहरूले सामाजिक सञ्जालमार्फत एक विज्ञप्ति जारी गर्दै फिल्म सर्नुको मुख्य कारण अन्तर्राष्ट्रिय परिस्थिति रहेको बताएका छन् । फिल्मलाई भारतीय बजारका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि ठूलो स्केलमा रिलिज गर्ने योजना थियो । तर, मध्य पूर्वमा देखिएको वर्तमान अस्थिरता र तनावपूर्ण अवस्थाका कारण निर्धारित मितिमा फिल्म रिलिज गर्नु उपयुक्त नहुने निष्कर्षमा निर्माण पक्ष पुगेको हो ।

निर्माताहरूले भनेका छन्, “हाम्रो लक्ष्य फिल्मलाई विश्वभरका दर्शकहरूसम्म पुर्‍याउनु हो । हालको भू-राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै हामीले फिल्मको रिलिज सार्ने कडा तर जायज निर्णय लिएका छौँ ।”

निर्माताहरूले रिलिज स्थगितको जानकारीसँगै नयाँ मिति पनि सार्वजनिक गरेका छन् । अब ‘टक्सिक’ २०२६ को जुन ४ जेठ २१) मा विश्वव्यापी रूपमा प्रदर्शन हुनेछ । यो फिल्म अंग्रेजीका साथै विभिन्न भारतीय भाषाहरूमा एकैसाथ हलमा लाग्नेछ ।

यसअघि मार्च १९ लाई भारतीय सिनेमाको ठूलो ‘बक्स अफिस भिडन्त’को रूपमा हेरिएको थियो । सोही दिन ब्लकबस्टर फिल्म ‘धुरन्धर’ को सिक्वेल ‘धुरन्धर २’ पनि रिलिज हुने तालिका थियो । ‘टक्सिक’ पछि हटेसँगै अब ‘धुरन्धर २’ ले सो मितिमा एकल प्रदर्शनको फाइदा पाउने सम्भावना बढेको छ ।

‘टक्सिक’ करिब ६०० करोड भारुको बजेटको पिरियड ग्याङस्टर ड्रामा हो । अभिनेता यशले करिब चार वर्षपछि यसै फिल्ममार्फत ठूलो पर्दामा कमब्याक गर्दैछन् । त्यसैले पनि यो फिल्मलाई लिएर दर्शकमा निकै ठूलो क्रेज छ ।

गीतु मोहनदासको निर्देशनमा बनेको फिल्ममा यश ‘डबल रोल’ मा देखिने चर्चा छ । उनीसँगै बलिउड अभिनेत्री कियारा आडवाणी, दक्षिणकी लेडी सुपरस्टार नयनतारा र हुमा कुरैशी जस्ता प्रभावशाली कलाकारहरूको अभिनय रहनेछ।