विराज र रेखासँग बलेको टक्कर, दर्शकले कसलाई पत्याउलान् ?
काठमाडौं । नयाँ वर्षको छेको पारेर रिलिज हुने चलचित्रको संख्या ठूलै छ । चैत २७ गते तीनवटा नेपाली चलचित्र हलमा प्रवेश गर्दैछन् ।
‘राम नाम सत्य’, ‘छत्तीसको आँकडा’ र ‘डल्लेले इन्ट्री मार्यो’ एकै साथ रिलिज हुने भएका छन् । यी चलचित्र एकै दिन दर्शकमाझ आउँदा नयाँ र अग्रज तथा अग्रज–अग्रजबीच नै प्रतिस्पर्धा हुनेछ ।
आफ्नो कालखण्डमा आफूलाई प्रमाणित गरिसकेका रेखा थापा र विराज भट्टबीच प्रतिस्पर्धा हुनेछ । किनभने ‘छत्तीसको आँकडा’मा रेखा थापा मुख्य भूमिकामा छिन् । ‘राम नाम सत्य’को मुख्य भूमिकामा विराज भट्ट छन् ।
‘छत्तीसको आँकडा’ र ‘राम नाम सत्य’ आमनेसामने हुँदा यी दुई चलचित्रसँग प्रतिस्पर्धा गर्न सागर लम्साल (बले)ले इन्ट्री मार्दैछन् । र, उनी इन्ट्री मार्दैछन् ‘डल्लेले इन्ट्री मार्यो’ मार्फत ।
एकै दिन यी सिनेमा आउँदा दर्शकले भने कुन चलचित्रलाई रोज्ने हुन्, अहिले नै भन्न सकिने अवस्था छैन । अहिलेसम्म कुनै पनि चलचित्र कन्टेन्ट फालिनसकेकाले अहिले यो चलचित्र तुलानात्मक रूपमा यो भन्दा बलियो होला भनेर भन्न सक्ने अवस्था पनि छैन ।
माइकल चन्दको लेखन तथा निर्देशन रहेको चलचित्र ‘राम नाम सत्य’मा विराज भट्टसँगै सुपुष्पा भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, प्रशान्त ताम्राकार, सुनिल थापा लगायतका कलाकारहरुको अभिनय छ ।
एक्सन, सस्पेन्स र लभ स्टोरी कथामा निर्माण भएको यस चलचित्र माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण भएको हो । चलचित्रमा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ । किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्माता हुन् ।
मोती कार्की क्रियटिभ प्रोड्यूसर रहेको चलचित्रका लाइन प्रोड्यूसर राजेन्द्र आचार्य छन् । चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको संगीत छ ।
माइकल चन्दकै कथा र पटकथा रहेको यो चलचित्रमा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको एक्सन निर्देशन, बन्दे प्रसादको सम्पादन, काला चरणको व्याकग्राउन्ड म्युजिक छ ।
‘छत्तीसको आँकडा’मा रेखा थापासँगै पूजा शर्मा, निरुता सिंह, पुष्प खड्का र महेश त्रिपाठी मुख्य भूमिकामा छन् ।
सबिर श्रेष्ठको निर्देशनमा बनेको चलचित्र रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनिरहेको छ ।
यो चलचित्रले दुई महिला पात्रबीचको तीव्र द्वन्द्वलाई कथाको केन्द्रमा राखेको बताइएको छ ।
एक्सन–ड्रामा जनरामा निर्माण भएको यस चलचित्रमा रेखा थापाको जोडीका रूपमा महेश त्रिपाठी देखिनेछन् । पूजा शर्मा र पुष्प खड्का पहिलो पटक पर्दामा जोडीका रूपमा प्रस्तुत हुँदैछन् ।
निर्माण पक्षका अनुसार चलचित्रले सशक्त महिला पात्र, एक्सन र भावनात्मक द्वन्द्वलाई सन्तुलित रूपमा प्रस्तुत गर्नेछ ।
‘डल्लेले इन्ट्री मार्यो’ सागर लम्साल ‘बले’को आफ्नै होम प्रोडक्सनमार्फत बनिरहेको छ । बलेले फरक धारको चलचित्र बनिरहेको बताएका छन् ।
उक्त चलचित्रको सुटिङ सकिएलगत्तै उनी ‘पाँच पाण्डव’ फिल्मको सेटमा जोडिने तयारीमा छन् । ‘पाँच पाण्डव’पछि पनि उनी दुई अन्य चलचित्रमा अनुबन्धित भइसकेका छन् ।
बलेसँगै यो चलचित्रमा रोशनी खड्का मुख्य भूमिकामा छिन् ।
राजु गिरीको निर्देशन, उमेशकुमार बस्नेतको कथा अनि लक्ष्मण सुवेदीको पटकथा, संवाद रहेको चलचित्रमा सागर र रोशनी खड्का, रमेश बुढाथोकी, रवीन्द्र झा, हेमन्त बुढाथोकी, विशाल पहाडी, कैलाश रावल, रवि गिरी, ध्रुव कोइरालालगायतको अभिनय छ ।
कार्यविनायक फिल्म्स र उषा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको निर्मातामा साबित्रा चिलुवाल, आषिक बस्नेत, आदर्श बस्नेत, निर्मला बस्नेत र सरिता पुरी गिरी छन् ।
श्याम तामाङले खिचेको सिनेमामा अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत, केशवराज भट्टको कोरियोग्राफी छ ।



