रास्वपाको अग्रताले चलचित्रकर्मी हर्षित, कसले के भने ?
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले लिएको प्रारम्भिक अग्रताले राजनीति मात्र होइन, नेपाली रजतपटलाई पनि निकै तरंगित बनाएको छ ।
आफ्नो समाजिक सञ्जाल फिडमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीलो रङ छाउन थालेपछि त्यसको पराकम्प नेपाली चलचित्र जगतमा पनि देखिन थाल्यो । मतगणनाका प्रारम्भिक नतिजाहरूमा रास्वपाको ‘घण्टी’ ले निकै ठूलो स्पेस लिएपछि नेपाली चलचित्र क्षेत्रका कलाकारहरूले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
चलचित्रकर्मी मध्य कसैले यसलाई ‘नयाँ युगको सुरुवात’ भनेका छन् भने कसैले नवनिर्वाचित हुन लागेका उम्मेदवारहरूलाई जिम्मेवारीको भारी सम्झाएका छन् ।
शुक्रबारको काठमाण्डौंको मौसममा घाम देखिन नसकिरहँदा चलचित्रका ‘लुट’ फेम्ड निर्देशक निश्चल बस्नेतले फेसबुकमा एउटा छोटो स्टाटस लेखे, “कति पछि शुभ बिहानी साँच्चै देख्न पाइयो ।”
यो निर्देशक बस्नेतको यो स्टाटसले लामो समयदेखिको राजनीतिक अवस्थाबाट वाक्क भएका जनताले परिवर्तन खोजेको संकेत गरेको छ । उनले रास्वपाको अग्रतालाई जनताको शक्तिको रूपमा व्याख्या गरेका हुन् भन्ने बुझ्न सकिन्छ ।
निश्चलकी जीवनसंगिनी तथा अभिनेत्री स्वस्तीमा खड्काले पनि उनको स्वरमा स्वर मिलाउँदै फेसबुकमा लेखेकी छिन्, “साँच्चैको शुभ बिहानी भयो ।” उनीहरूको यो प्रतिक्रियाले चलचित्र जगतमा नयाँ राजनीतिक शक्तिको आगमनलाई उत्साहका साथ स्वागत गरिएको देखिन्छ ।
अभिनेत्री पूजा शर्माले भने रास्वपालाई बधाई दिँदै एउटा ‘चेकलिस्ट’ सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्, “अब वास्तविक परीक्षा सुरु भयो । निर्मला पन्तको न्याय, जेन्जी जनआन्दोलनमा भएको मृत्यु प्रकरण, सहकारी ठगी, वाइड बडी विमान खरिद प्रकरण, गिरीबन्धु चिया जग्गा घोटाला र माओवादी क्यान्टोनमेन्ट भ्रष्टाचार जस्ता वर्षौदेखि अल्झिएका फाइलहरू अब फेरि धुलोमै थन्किने हुन् कि खुल्ने?”
उनले अगाडि थपेकी छिन्, “नारा धेरै सुनियो, अब न्याय र विकास भाषणमा होइन, काममा देख्ने पालो तपाईंहरूको हो । देशले हेर्दैछ ।”
अभिनेत्री गरिमा शर्माले भने चुनावी माहोलका क्रममा आफूले भोगेको अनुभव र नतिजाको तुलना गरेकी छिन् । रास्वपालाई समर्थन गर्दा आलोचना खेपेकी हुन् की भन्ने कुरालाई उनले व्यङ्ग्यात्मक शैलीमा लेखेकी छिन्, “समर्थन गरेको भनेर गाली गर्ने धेरैजनाले खुसुक्क भोट चाहिँ घण्टीमै हाल्नुभएको रहेछ नि, अहिले परिणाम बोल्दैछ ।”
अभिनेत्री प्रियंका कार्कीले रास्वपाका उम्मेदवारहरूको विजय र अग्रताको खुसियाली सेयर गर्दै निरन्तर बधाई दिइरहेकी छिन् । उता निर्देशक दीपेन्द्र के खनालले रास्वपाको देशव्यापी लहर देखेर अचम्म मान्दै लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता हेर्दा त दुईतिहाइ नै पुग्छ जस्तो छ ।”
यसैबिच, अभिनेत्री रिचा शर्माको प्रतिक्रिया भने अलि फरक र संक्षिप्त देखिएको छ । धेरैले पुराना राजनीतिक दलहरूको कुरा गरिरहँदा उनले फेसबुकमा “बादल पो लाग्यो त” भन्दै टिप्पणी गरेकी छिन् । उनको यो संकेत पुराना राजनीतिक पार्टी प्रति लक्षित हो भन्नेबारे अडकल गर्न सकिन्छ ।
नेपाली चलचित्रकर्मीहरूले यस पटकको निर्वाचन परिणामलाई निकै चासोका साथ हेरिरहेका छन् । नयाँ पार्टीको उदयले पुराना राजनीतिक दलहरूलाई पाठ सिकाएको र अबको नेतृत्वले सुशासन र न्यायमा ध्यान दिनुपर्ने उनीहरूको साझा सन्देश छ । निर्वाचनको अन्तिम नतिजा आउन बाँकी नै भए पनि रास्वपाले सिर्जना गरेको यो तरङ्गले नेपाली समाजमा ठूलो प्रभाव पारिसकेको कलाकारहरूको फेसबुक वालले पुष्टि गर्दछ ।



