लज्जास्पद हार बेहोरेकी अभिनेत्री निशा अधिकारीको जमानत जफत हुने सम्भावना
काठमाडौं । अभिनेत्री निशा अधिकारीका लागि संसदीय राजनीतिमा डेब्यु सुखद रहन सकेन । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएकी अधिकारीले लज्जास्पद हार बेहोर्नु परेको छ ।
‘गतिशील लोकतान्त्रिक पार्टी’ बाट ‘ब्याट्री’ चुनाव चिन्ह लिएर प्रतिस्पर्धा गरेकी निशाले मतदाताको विश्वास जित्न पूर्णतः असफल देखिएकी छन् । उनले हालसम्मको मतपरिणाममा जम्मा ८४ मत मात्र प्राप्त गरेकी छन् ।
सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेल २७ हजार ४ सय ७७ मतका साथ अग्रस्थानमा छन् । जित सुनिश्चित देखिएका उम्मेदवार र निशाबीचको मतको मतान्तर निकै फराकिलो रहेको छ ।
निशा आफैँले पनि हार स्वीकार गरि सकेकी छन् । उनले १० प्रतिशत मत समेत ल्याउन सकेकी छैनन् । यस हिसाबले अभिनेत्री निशाको जमानत जफत हुने सम्भावना देखिएको छ ।
यो क्षेत्रका निशासँगै अन्य उम्मेदवारको पनि जमानत जफत हुने छ । निर्वाचन कानुन अनुसार कुनै पनि उम्मेदवारले आफ्नो जमानत (धरौटी रकम) फिर्ता पाउनका लागि कुल खसेको सदर मतको कम्तीमा १० प्रतिशत मत ल्याउनु अनिवार्य हुन्छ । निशाले १०० मत पनि कटाउन नसकेका कारण उनको धरौटी रकम जफत हुने सम्भावना भएको छ ।
निर्वाचन आयोगको नियम अनुसार १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी राज्यको राजस्व खातामा दाखिला हुने प्रावधान छ ।
पराजित भएपछि निशाको प्रतिक्रिया: ‘यो हार होइन, सुरुवात हो’
चुनावी परिणाम सार्वजनिक भएपछि अभिनेत्री निशा अधिकारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले विजयी उम्मेदवार सस्मित पोखरेललाई बधाई दिँदै आफ्नो प्रतिबद्धताबाट विचलित नहुने बताएकी छन् ।
फेसबुकमा उनले लेखेकी छन्, “नतिजा जे भए पनि नागरिकसँगको हाम्रो संवाद र घरदैलो अभियान जारी रहनेछ । नीति र एजेण्डामा आधारित राजनीति निर्माण गर्ने हाम्रो प्रयासमा पूर्णविराम लागेको छैन ।” उनले राजनीतिलाई आफूले पदको यात्रा भन्दा पनि सेवा र जिम्मेवारीको रूपमा लिएको स्पष्ट पारेकी छन् ।
रास्वपाले एकल बहुमतको सरकार बनाउने सम्भावना देखिएको भन्दै निशाले संसदभित्र प्रतिपक्ष कमजोर हुन सक्ने चिन्ता व्यक्त गरेकी छन् । उनले भनेकी छन्, “संसदभित्र बलियो प्रतिपक्षको अभाव हुन सक्छ, यस्तो अवस्थामा नागरिकको आवाज बुलन्द पार्न सडकबाटै बलियो लोकतान्त्रिक प्रतिपक्षको भूमिका निर्वाह गर्नु मेरो अबको जिम्मेवारी हुनेछ।”
काठमाडौं क्षेत्र नं. ५ बाट महिला प्रतिनिधि संसदमा पुर्याउने आफ्नो सपना अझै जीवितै रहेको बताउँदै उनले यसलाई आफ्नो राजनीतिक यात्राको ‘दोस्रो अध्याय’ को सुरुवात भनेकी छन् ।



