‘धुरन्धर २’ को ट्रेलरमा के छ ?
काठमाडौं । बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतीक्षित फिल्म ‘धुरन्धरः द रिभेन्ज’ (धुरन्धर २) को ट्रेलर सार्वजनिक भएको छ ।
सार्वजनिक भएको केही समयमै सामाजिक सञ्जालमा तहल्का मच्चाएको यो ट्रेलरले फिल्म पूर्ण रूपमा एक्सन र बदलाको कथामा आधारित रहेको प्रस्ट पारेको छ ।
लामो समयदेखि यो सिक्वेलको पर्खाइमा रहेका दर्शकहरूका लागि ३ मिनेट २५ सेकेन्ड लामो ट्रेलरले उत्साहलाई उत्कर्षमा पुर्याइदिएको छ ।
आदित्य धर निर्देशित “धुरंधर” एक जासूसी-थ्रिलर हो । सत्य घटनाबाट प्रेरित यो फिल्मले जासूसी दुनियाँको एउटा रोमाञ्चक कथा प्रस्तुत गरेको छ ।
ट्रेलरको सुरुवात नै निकै आक्रामक शैलीमा गरिएको छ, जहाँ रणवीर सिंह पहिलेभन्दा बढी खतरनाक र ‘रफ-एन्ड-टफ’ लुक्समा देखिएका छन् । फिल्मको प्लट पाकिस्तानको कराँचीस्थित ‘लियारी’ क्षेत्रको ग्याङ-वारमा केन्द्रित देखिन्छ । पाकिस्तानी गुण्डा रहमान डकैत (कराँचीको कुख्यात ग्याङस्टर ‘सरदार अब्दुल रहमान बलोच’)को मृत्युपछि “लियारीको नयाँ राजा को बन्ने?” भन्ने मुख्य प्रश्नलाई ट्रेलरले उठाएको छ ।
ट्रेलरमा रणवीर लियारीको राजा बनेको र त्यहाँका मानिसहरूले उनको विजयको उत्सव मनाइरहेको देखाइएको छ । तर, कथामा ट्वीस्ट तब आउँछ जब उनीहरूको बीचमा रणवीरको वास्तविक पहिचान खुल्छ । बदलाको मुडमा देखिएका रणवीरको यो नयाँ अवतारले फ्यानहरूलाई निकै प्रभावित पारेको छ ।
‘धुरन्धर २’ मा रणवीर सिंहलाई टक्कर दिन अभिनेता संजय दत्त र अर्जुन रामपाल पर्दामा उत्रिएका छन् । संजय दत्त निकै शक्तिशाली भूमिकामा देखिएका छन् भने अर्जुन रामपाललाई अहिलेसम्मकै खतरनाक खलनायकको रूपमा प्रस्तुत गरिएको छ ।
ट्रेलरको एउटा संवादले अहिले निकै चर्चा पाइरहेको छ, जहाँ भनिएको छ– “पाकिस्तानको भविष्य अब हिन्दुस्तानले तय गर्नेछ ।” यो संवादले फिल्ममा राष्ट्रभक्ति र राजनीतिक दाउपेच समेत रहेको संकेत गर्दछ ।
यो फिल्म आगामी मार्च १९ मा विश्वभरका सिनेमाघरहरूमा रिलिज हुँदैछ । सुरुमा यही मितिमा दक्षिण भारतीय सुपरस्टार यशको फिल्म ‘टक्सिक’ पनि रिलिज हुने चर्चा थियो । तर, मध्य पूर्वमा जारी तनावका कारण ‘टक्सिक’ को रिलिज मिति सरेर जुन ४ मा पुगेको छ । जसका कारण ‘धुरन्धर २’ ले बक्स अफिसमा ‘सोलो रिलिज’ को फाइदा उठाउने निश्चित देखिएको छ ।
फिल्मको पहिलो भागले बक्स अफिसमा ऐतिहासिक सफलता हासिल गरेको थियो । पहिलो भागले भारतीय बक्स अफिसमा मात्रै ८३८.५० करोड भारु र विश्वभर गरी कुल १३०५.३५ करोड भारुको व्यापार गरेको थियो । सिक्वेलको ट्रेलरले पाएको प्रतिक्रिया हेर्दा यसले अघिल्लो रेकर्डलाई पनि तोड्ने अनुमान गरिएको छ ।



