बाठी हुन खोज्दा भेउ नपाउने रिमा विश्वकर्मा, कहाँ-कहाँ चिप्लिइन् ?
काठमाडौं । अभिनेत्री तथा रास्वपाकी समानुपातिक सांसदकी उम्मेदवार रिमा विश्वकर्मा फेरि सामाजिक सञ्जालमा कडा आलोचना र ‘ट्रोल’ को शिकार बनेकी छिन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को राजनीतिक भविष्यलाई लिएर उनले गरेको एक फेसबुक पोस्टका कारण उनी विवादमा तानिएकी हुन् ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग टेबुलटेनिस खेलेको प्रसंग होस् वा वैवाहिक जीवनका उतार–चढाव होऊन्, या त टेलिभिजन कार्यक्रमका चर्चित अभिव्यक्तिहरू र प्रस्तुति– रिमा सधैँ कुनै न कुनै कारणले हेडलाइनमा रहँदै आएकी पात्र हुन् । केही समयअघि मात्रै कुलमान घिसिङको अगुवाईमा ‘उज्यालो नेपाल पार्टी’ जन्मियो । यो पार्टीमा प्रवेश गरेसँगै हरियो साडीमा ठाँटिएर हिँडिरहँदाले एकखालको चर्चा बटुलिन् । तर उनले त्यो हरियो साडी लामो समय लगाउनु परेन ।
उज्यालो–रास्वपा एकिकरणपछि रास्वपाको सदस्य भएसँगै उनले निलो साडीमा आफूलाई प्रस्तुत गर्न थालिन् । तर १२ दिनै यो एकिकरण भाँडिएपछि उनले आफ्नो हरियो साडी बिर्सिन अर्थात कुलमानसँगै उज्यालो पार्टीमा फर्किनन्। यतिबेला सम्म निर्वाचन आयोगको समानुपातिक सुचिमा उनी दलित महिला कल्स्टरको पहिलो नम्वरको समानुपातिक बन्द सूचिमा परिसकेकी थिइन् । बालेन र रविको एकताले सो एकताले ल्याउने सम्भावित लहरलाई नाप्दै उनले कुलमानको साथ छोडेको धेरैको बुझाइ छ । जसका कारण उनलाई अवसरबादी व्यक्ति भनेर समेत सामाजिक संजालमा आलोचना गरियो ।
यसरी उनको आलोचनाको क्रम यही रोकिएन ।
निर्वाचनअघि चुनाव प्रचारप्रसारका निम्ति स्याङ्जा पुगेकी रिमाले भाषणको क्रममा त्यहाँका जनताले बहुमतका साथ रास्वपाका उम्मेदवारलाई जिताए, चुनावपछि रवि र बालेन्द्रलाई उक्त क्षेत्रमा ल्याउने वाचा गर्छु भन्दै भाषण ठोकिन् ।
‘म यहाँहरूलाई यसै ठाउँबाट यसै समयमा एउटा वाचा गर्न चाहन्छु। स्याङ्जाको क्षेत्र नं १ र २ बाट तपाईंहरूले हामीलाई बहुमतका साथ विजयी गराउनु भयो भने पार्टीका सभापति रवि लामिछाने र देशका प्रधानमन्त्री श्री बालेन्द्र शाहलाई स्याङ्जामा ल्याउने वाचा मैले अहिले नै गरेँ ’, उनले त्यतिबेला भनेकी थिइन् ।
उनले बोलेको यो कुराको क्लिप सामाजिक सञ्जालमा ट्रोल भयो । सोको रिमाले आफ्नो आशयलाई गलत तरिकाले अर्थ्याइएको भन्दै ढाकछोप गरिन् ।
यस्तै सिलसिलाकावीच प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह (बालेन) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै उनले हिजो “विश्व कै कान्छो प्रधानमन्त्री २०२६” भनेर सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेखिन् । जसको अहिले सर्वत्र अलोचना भइरहेको छ ।
उनले तथ्य नबुझि यो स्टाटस लेखेकाले आलोचित बनेकी हुन्। उनले गरेको दाबी पूर्णरुपमा गलत छ ।
रिमालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले “बाठी हुन खोज्दा भेउ नपाएको” भन्दै खिसीट्यूरी गरिरहेका छन् । उनीहरुले रिमाको सामान्य ज्ञान र राजनीतिक चेतमाथि प्रश्न उठाइरहेका छन् । तथ्य र अनुसन्धान विना नै भावनामा न बहकिन भन्दै ट्रोल गरिरहेका छन् ।
रिमाको यो पोस्ट सार्वजनिक भएलगत्तै एक प्रयोगकर्ताले लेखेका छन्, “सेलिब्रेटी हुनुको अर्थ जे पायो त्यही लेख्नु होइन, कम्तीमा गुगल सर्च गरेर त लेख्नुपर्छ ।”
अर्का प्रयोगकर्ताको टिप्पणी छ, “बालेनको क्रेज प्रयोग गरेर सस्तो लोकप्रियता कमाउन खोज्दा रिमा आफैँ नराम्रोसँग पछारिएकी छिन् ।”
हुन पनि हो निर्वाचन आयोगको तथ्यांक अनुसार बालेन शाहको उमेर हाल ३६ वर्षको आसपास छ । रिमाले उनलाई ‘विश्वकै कान्छो प्रधानमन्त्री’ भनेर दाबी गरेपनि तथ्यहरूले यसको खण्डन गर्छन् किनकी बेलायतका विलियम पिट सन् १७८३ मा मात्र २४ वर्षको उमेरमा बेलायतको प्रधानमन्त्री बनेका थिए । उनी विश्व इतिहासमै सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्तिमध्ये एक हुन् । उनी अहिलेसम्मकै बेलायतको सबैभन्दा कान्छो प्रधानमन्त्री हुन् ।
नेपालमै पनि जंगबहादुर राणा २९ वर्षको उमेरमै सत्ताको बागडोर सम्हाल्न पुगेका थिए । जंगबहादुर राणा वि.सं. १९०३ (सन् १८४६) मा प्रधानमन्त्री (त्यतिबेला मुख्तियार भनिन्थ्यो) बन्दा करिब २९ वर्षका थिए (उनको जन्म १८१७ मा भएको थियो) ।
नेपालको आधुनिक समयमा सूर्यबहादुर थापा ३५ वर्षमा ९ महिनामा प्रधानमन्त्री भएका थिए ।
अष्ट्रियाका सेबास्टियन कर्ज सन् २०१७ मा ३१ वर्षमा चान्सलर (प्रधानमन्त्री सरह) बनेका थिए । फिनल्याण्डकी साना मरिन ३४ वर्षमा प्रधानमन्त्री बनेकी थिइन् ।
वाल्डमर पौलक सन् १९९२ मा पोल्याण्डको प्रधानमन्त्री बन्दा ३२ वर्षका थिए । उनलाई पोल्याण्डको इतिहासमा सबैभन्दा कान्छो प्रधानमन्त्री मानिन्छ ।
साइमन ह्यारिस आयरल्याण्डका प्रधानमन्त्री सन् २०२६ मा उनी ३९ वर्षका भए । उनी सन् २०२४ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए ।
बुर्किना फासोका सैन्य नेता (राष्ट्रपति)इब्राहिम ट्राओरे पनि ३७–३८ वर्षकै उमेरका छन्, तर उनी निर्वाचित प्रधानमन्त्री नभई सैन्य कू मार्फत सत्तामा आएका हुन् ।
इक्वेडरका राष्ट्रपति डेनियल नोबोआ सन् २०२६ मा उनी ३८ वर्षका भए ।
यसअघि फिनल्याण्डकी साना मरिन ३४ वर्षको उमेरमा प्रधानमन्त्री बनेर विश्वकै कान्छो प्रधानमन्त्रीको रूपमा चर्चित थिइन्, तर हाल उनी पदमा छैनन्। यस्तै, फ्रान्सका ग्याब्रिएल अटल पनि ३४ वर्षकै उमेरमा प्रधानमन्त्री बनेका थिए, तर उनी पनि सन् २०२४ को सेप्टेम्बरमा पदमुक्त भएका थिए ।
सन् २०२६ को मार्च महिनाको तथ्यांक र वर्तमान अवस्थालाई हेर्दा, लोकतान्त्रिक रूपमा निर्वाचित विश्वकै सबैभन्दा कान्छो प्रधानमन्त्रीहरूमध्ये आइसल्याण्डकी क्रिस्ट्रुन फ्रोस्तादोतिर हुन् ।
फ्रोस्तादोतिरले सन् २०२४ को अन्त्यमा कार्यभार सम्हाल्दा ३६ वर्षकी थिइन्, जसले गर्दा उनलाई गिनिज वर्ल्ड रेकर्ड्सले पनि विश्वकै कान्छो बहालवाला राष्ट्र प्रमुखको रूपमा सूचीकृत गरेको छ । उनी पेशाले अर्थशास्त्री र पूर्व पत्रकार पनि हुन् ।
तसर्थ, ३६ वर्षको उमेरमा प्रधानमन्त्री बन्नु युवा नेतृत्वका हिसाबले सकारात्मक भए पनि यसलाई ‘विश्वकै कान्छो’ भन्नु ऐतिहासिक रूपमा गलत हो ।
पछिल्लो समय सामाजिक सञ्जालमा प्रभाव राख्ने कलाकारहरूले टिप्पणी गर्ने क्रम बढेको छ । तर, सत्यतथ्य जाँच नगरी र ऐतिहासिक रेकर्डहरूको ख्याल नगरी गरिने यस्ता टिप्पणीले सम्बन्धित व्यक्तिको छवि मात्र धमिल्याउँदैन, समाजमा गलत सूचना फैलाउन समेत मद्दत पुर्याउँछ ।
उक्त स्ट्याटसको पछाडि “विश्व कै कान्छो प्रधानमन्त्री २०२६” भनेर लेख्दा पनि आलोचकहरु रिमाले यसपछि कुनै प्रतिक्रिया दिएकी छैनन् ।
सन् १९८९ मा बर्दियाको गुलरियामा जन्मिएकी रिमाको ग्ल्यामर यात्रा सानै उमेरमा सुरु भएको हो । सात कक्षामा पढ्दादेखि नै टेलिशृंखला ‘जाँदाजाँदै’ सञ्चालन गरेकी उनी नेपाल आइडल र कमेडी च्याम्पियनजस्ता चर्चित रियालिटी शोकी प्रस्तोता बनेपछि घर–घरमा चिनिइन् । सुन्दर प्रस्तुति, आत्मविश्वासी शैली र स्पष्ट बोलीका कारण उनले फ्यान बेस बढाउँदै लगिन् ।
कार्यक्रम प्रस्तोताबाट सिनेमा क्षेत्रमा प्रवेश गरेकी रिमाले ‘स्वर’बाट डेब्यु गर्दै ‘भिजा गर्ल’, ‘ऋतु’, ‘भाले फाइट’, ‘बाटोमुनिको फूल–२’, ‘कोहलपुर एक्सप्रेस’लगायत दर्जनौँ चलचित्रमा अभिनय गरिन् । उनले अभिनेत्रीका रुपमा काम गरेका सबै सिनेमा फ्लप छन् ।



