चलचित्र ‘टिका’ निर्माणको घोषणा, शीर्ष भूमिकामा महेश र वर्षा

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘टिका’ निर्माणको घोषणा गरिएको छ ।

निर्देशक शंकर कार्कीको निर्देशनमा तयार हुने चलचित्र ‘टिका : स्टेटलेस सोल’को आइतबार अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर औपचारिक घोषणा गरिएको हो ।

चलचित्रको मुख्य भूमिकामा अभिनेता महेश त्रिपाठी र अभिनेत्री वर्षा सिवाकोटी देखिनेछन् । महेश र वर्षाले यो पहिलो पटक सहकार्य गर्न लागेका हुने ।

यस्तै चलचित्रमा ऋचा शर्मा, निर्मल शर्मा र आयुषी ढकालको पनि अभिनय रहने निर्माण पक्षले जनाएको छ ।

मनोरञ्जनसँगै सामाजिक सन्देश पनि दिने जनाइएको यस चलचित्रले विशेष गरी महिलाको संघर्ष, आत्मसम्मान र अस्तित्वको कथालाई पर्दामा उतार्नेछ ।

भविष्य फिल्मको प्रस्तुति र थर्ड आई आर्ट्सको सहकार्यमा निर्माण हुने यस चलचित्रका निर्माता भविष्य खड्का हुन् भने कार्यकारी निर्मातामा तेजविक्रम केसी रहेका छन् ।

चन्दन झा र शंकर कार्कीको कथा रहेको चलचित्रको पटकथा रामकुमार श्रेष्ठले तयार पारेका हुन् ।